देश नबन्नुमा दोषी को ?

रिपोर्ट नेपाल | 2020 Jul 21 | 07:39 pm 2771

  • बसन्त भुजेल

हामी किन पछि पर्यौं ? भन्ने प्रश्न हरेक नेपालीले दिमागमा हरदम राख्नुको विकल्प अब छैन । धेरै ढिला भइसकेको छ । प्रचुर संभावना हुँदा हुँदै पनि हामी विश्वकै दरिद्र राष्ट्रको सूचिमा पुगिसक्यौं । अब हाम्रा सन्ततीले हामीलाई धिक्कार्नेछन् ।

आज भन्दा पाँच सय वर्ष अघिसम्म विश्वका दश वटा धनी मुलुकको सूचिमा नेपाल थियो । जुन कुरा भारतका विद्धान राहल संस्कृत्यानले आफ्नो र्कीतिमा उल्लेख गरेका छन् । आज भन्दा करिव २ हजार वर्ष अघि नेपाल भ्रमण गरेका भारतीय संम्राट अशोकको वर्णन र त्यही समयको सेरोफेरोमा नेपाल भ्रमण गरेका चिनियाँ यात्री हुयनसाङको वर्णन पढ्ने हो भने पनि त्यतिबेला नेपाल हरेक क्षेत्रमा विश्वका ४–५ वटा सम्पन्न मुलुकको सूचिमा थियो । सम्राट अशोक र हुयान सांङको वर्णन माथि विश्वास नलागे हामी आफैले पनि मल्लकालमा बनेका काठमाडौं उपत्यकाका भौतिक संरचना नियालेर अध्ययन गरौं, त्यही कालखण्डमा विश्वका अरु देशमा के कस्ता संरचना बनेका रहेछन् ? त्यो पनि अध्ययन गरौं । अनि तुलना गरौं । त्यस पछि हामी आफैले अनुमान गर्ने छौं हामी कति छिटो छिटो अधोगति तिर गइरहेका रहेछौं ?

करिव आधा शताव्दी अघि स्वीटजरल्याण्डका अन्भेषक टोनी हेगनले करिव १८ वर्ष लगाएर नेपालका कुना कन्दरा पैदलै भ्रमण गरे । भ्रमणका क्रममा उनले नेपालमा विश्वका सवै भन्दा अव्वल सम्भावना करिव २० वटा रहेको उल्लेख गरे । यी २० वटा सम्भावना मध्ये जुन सम्भावनाको सदुपयोग गरे पनि नेपाललाई विश्वकै धनी देशको सूचीमा पुग्न कसैले छेक्न नसक्ने निष्कर्ष पनि टोनी हेगनले निकाले ।

यस लेखक अर्थात म स्वयम् पनि बेलायती सेनामा रहँदा विश्वका केही मुलुक पुग्ने मौका पाएँ । धेरै मुलुकहरुको विषयमा पढ्ने मौका पनि पाएँ, तर, हाम्रो मुलुक नेपालको जति धेरै सम्भावना अरु कुनै मुलुकको देखिएन । के छैन नेपालमा ? जुन सुकै देशमा पनि पाइला पर्ने वित्तिकै मान्छेको दिमागमा पुग्ने भनेको त्यहाँको सुन्दरता हो । जसले नेपालकोभूमीमा पाइला टेक्छ उसले उत्तर तिर चाँदीको जस्तो टिलिक्क टल्कने हिमालय श्रृंखला देख्छ । नजिकै नागवेली परेर वगेका सुन्दर नदी देख्छ, सुन्दर नदीका किनारका फाँटमा तरली परेको अन्नबाली देख्छ । दक्षिण तर्फ फर्कदा तराईको समथर फाँट देख्छ । जति पाइला चाल्यो त्यति नै फरक–फरक रमणीय दृश्यहरु आँखामा ठोक्किन आइपुग्छन् । सुन्दर ताल तलैया पनि त्यतिकै छन् । हरिया पहाडहरुले अझ मन लोभ्याउँछ । पर्यटक बनेर आएका टोनी हेगन यसै आजिवन नेपालमा बसेर कुना कन्दरा घुमेका होइनन्, उनलाई मनले लोभ्याएकै हो । नेपाल कति सुन्दर छ ? भन्ने कुरा यस शताव्दीका दुई जना महान तपस्वी खप्तड स्वामी र शिवपुरी बाबालाई लिन सकिन्छ । उनीहरु दुवै विश्व भ्रमणमा निस्केका भारतीय विद्धान साधुहरु हुन । विश्वभ्रमणको सिलसिलामा उनीहरु जब नेपाल आइपुगे त्यस पछि उनीहरुको पाइला थप अघि बढेन । स्वर्ग नै यही रहेछ, जिउँदै स्वर्ग आइ पुगिएछ, अब किन अघि बढ्ने ? भन्दै उनीहरु आजिवन नेपालमै सामान्य आश्रम बनाएर बसे । ज्ञान गुणका धेरै किताव उनीहरुले लेखे । विश्वकै पदयात्रा गर्न लायक पहिलो नम्वरको मुलक नेपाल हो भनेर बेलायतको एक म्यागेजिनले हरेक वर्ष सूचि निकाल्ने गरेको छ ।

सुन्दरताका दृष्टिले मात्रै होइन धेरै दृष्टिले नेपाल अघि छ । जलस्रोतमा नेपाल दोस्रो धनी मानिन्छ । पहिलो धनी व्राजिल हो । तर भौगोलिक आकारको तुलना गर्ने हो भने जलस्रोतमा नेपाल ब्राजिल भन्दा पनि माथि छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । कृषिका लागि विश्वकै सबै भन्दा उर्वर भूमी नेपालको काठमाडौ उपत्यका हो भन्ने कुरा प्रमाणित भइसकेको छ । तर हामीले जोगाउन सकेनौं । कंक्रिटको जंगलले ढाकिदियौं ।
भगवान गौतमबुद्धको जन्मस्थल र सगरमाथाको देशका रुपमा नेपाल प्रख्यात छ । महाभारत ग्रन्थका लेखक वेदव्यासको जन्म पनि नेपालमै भएको हो । राजा जनक, सीता, रामायणका लेखक बाल्मिीकी ऋषि नेपालमा जन्मेका हुन् भन्ने कुरामा बिवाद छैन । राजा दशरथकी जेठी छोरी शान्ताको बिवाह हाम्रै गुल्मी जिल्लाको रिडि र रेसुंगामा तपस्या गरेर वस्ने ऋङ्गी ऋषिसँग भएको कुरा शिवपुराणमा उल्लेख छ । उनी श्रृङ्गी ऋषिले गुल्मीको रिडीमा आफ्ना ससुरा अयोध्याका राजा दशरथलाई बोलाएर पुत्रेष्टि यज्ञ लगाइ दिए । त्यही यज्ञको प्रतिफलका रुपमा भगवान रामको जन्म भएको हो । रामको जन्मभूमि अयोध्या नेपालकै अयोध्यापूरी रहेको विषयमा पनि यतिबेला कुरा उठेको छ । थप अनुसन्धान हुँदै जाला अब । तर ऋषि अष्टबक्र , भगवान श्रीकृष्णका गुरु सन्दीपनी , नेपालमै जन्मेका हुन् भन्ने कुरामा विवाद छैन । काश्यप ऋषिको तपस्या स्थल कास्कीको कास्कीकोट पहाडमा अझै देख्न पाइन्छ । ऋषि दधिचीले काठमाडौंको सुन्दरी जल क्षेत्रमा धेरै वर्ष तपश्या गरेको कुरा पशुपति पुराणमा उल्लेख छ । भगवान शिवको वासस्थान हिमालय पर्वतकै आसपासमा भएको र उनले हिमालयकी पुत्री पार्वतीसँग बिवाह गरेको कुरा पुराणमा उल्लेख छ । भविष्य पुराणमा भनिएको छ –‘कलियुगको अन्त्य हुनेबेलामा विश्वका सबै धर्मात्मा मानिसहरु शरण लिन हिमालय पर्वत रहेको देशमा जम्मा हुनेछन् ।’

प्राकृतिक स्रोत र साधनको कुरा गर्ने हो भने विश्वकै उच्च कोटीका जडीवुटीको अपार भण्डार भएको देश नेपाल हो । अन्यथा अर्थ नलगाइयोस् । गाँजा मात्रै सदुपयोग गर्दा पनि नेपालले खाडी राष्ट्रहरुले तेल भण्डारबाट गरेको आम्दानीलाई उछिन्ने सम्भावना छ । विश्वमै दुर्लभ मानिएको एक सिंगे गैंडा नेपालमा मात्रै पाइन्छ । गैंडा मात्रै होइन विश्वमा अन्यत्र नपाइने पक्षी, जनावर तथा बनस्पतिको संख्या नेपालमा उल्लेख्य छ ।

जनसंख्याको दृष्टिले उत्तरको छिमेकी मुलुक चीन विश्वकै पहिलो हो । दक्षिणको छिमेकी भारत विश्वकै दोस्रो हो । यस्ता दुई वटा मुलुकको वीचमा रहेको नेपाललाई बजारको समस्या छैन । विश्वकै उच्च कोटीको युरेनियम नेपालमै रहेको प्रमाणित भइसक्यो । विश्वमा कतै पनि नभएका दुर्लभ धातु, रत्न र अमुल्य खानी नेपालमै छन् । पछिल्ला केही शताब्दीदेखि वीर गोर्खालीहरुको देश र शान्तिको देशका रुपमा नेपालले ख्याति कमाएको छ ।

नेपाल किन पछि पर्यो ? भन्दा पनि हामीले किन अघि बढाउन सकेनौ ? भन्ने कुरा नै अहिलेको प्रमुख चिन्ता र चासोको विषय हो । इतिहासमा कसैको उपनिवेश भएर रहनु परेन । यो नेपालीहरूका लागि खुसीको कुरा हो । तर यही कुराले नै सायद घर गरेर होला नेपाल बन्न नसकेको पनि ।

नेपालले अहिले जति विकास गरेको छ त्यो उसको आफ्नो बलबुतामा भन्दा पनि विदेशको सहयोग र अनुदानमा भएको विकासको प्रतिफल हो । देश त्यसै कहाँ बन्छ र ? देश कसरी बन्छ भन्ने कुरा जान्नका लागि हामीले जापानको इतिहास पढ्नु पर्छ । देश कसरी बन्छ भन्ने बुझ्नका लागि हामीले चीनको इतिहासलाई धुलिसात पारेर खार्नु पर्छ । अनि देश कसरी बन्छ भनेर बुझ्नका लागि त हामीले सिंगापुरको इतिहास अझ खासगरी लि क्यानको जीवनीलाई पानापानामा गढेर पढ्नु पर्छ । भारत कसरी बन्यो ? बेलायत कसरी बन्यो ? अमेरिका कसरी बन्यो ? युरोप, क्यानाडा र अष्ट्रेलिया कसरी बनेँ ? पहिले त त्यो हेर्नुपर्छ अनि मात्र हाम्रो देश बनाउन सकिन्छ । देश बनेन भनेर मात्र सुगा रटाइ गर्ने होइन कि देश के गरी बनेन किन बनेन ? क–कसले बनाउँन दिएनन् भनेर पनि गहिरिएर हेर्नु पर्छ ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.