विराटनगर, माघ २५ : राष्ट्रपति विद्यादेवी भण्डारीको दुईदिने जिल्ला भ्रमण तय भएको छ। शुक्रबार काठमाडौंबाट बिराटनगर विमानस्थलमा ओर्लेपछि राष्ट्रपति भण्डारी हेलिकोप्टरबाटै मोरङका दुईवटा विद्यालयको रजत जयन्तीमा सहभागी हुन जाने कार्यक्रम छ।
राष्ट्रपति भण्डारी शुक्रबार मोरङको रमाइलोझोडामा अवस्थित जनसेवा माविको रजत जयन्तीमा सहभागी हुने कार्यक्रम छ ।
जनसेवाको कार्यक्रम सकेर राष्ट्रपति भण्डारी आजै उर्लाबारी नगरपालिकामा अवस्थित राधिका माविको रजत जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको स्रोतले बतायो ।
आफ्नो वाषिर्कोत्सवमा राष्ट्रपतिलाई नै सहभागी गराउने ‘भाग्य’ देशका सबै विद्यालयहरुलाई छैन । तर, उर्लाबारीको राधिका मावि राष्ट्रपति भण्डारीले आफैं पढेको विद्यालय हो । र, सो विद्यालयमा जाँदा रमाइलो झोडाको जनसेवा माविले पनि राष्ट्रपतिलाई आतिथ्य ग्रहण गराउने अवसर पाएको हो ।
राष्ट्रपति भण्डारी विद्यालयको रजत जयन्तीका लागि मात्र जिल्ला गएकी हैनन् । उनी सुनसरीको चतराधाममा आयोजना हुन लागेको महायज्ञमा सहभागी हुन जिल्ला आएकी हुन् । यही सिलसिलामा उनले मोरङका दुई विद्यालयको वाषिर्कोत्सवमा सहभागी बन्ने अवसर जुरेको हो ।
राष्ट्रपति भण्डारी शनिबार सुनसरीको बराहक्षेत्र जाने कार्यक्रम छ ।
राष्ट्रपतिले शनिबार बिहान सुनसरीको कोशी नदीको वीचमा रहेको वस्तीको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
कोशी नदीमा रहेको सो टापुलाई ‘श्रीलंका टापु’ को नामले चिन्ने गरिएको छ । त्यहाँ प्रदेश सरकारले पर्यटनसम्बन्धी योजना प्रस्तुत गर्न लागेको मुख्यमन्त्रीको सचिवाललय जानकारी दिएको छ ।
श्रीलंका टापुको भ्रमणपछि राष्ट्रपतिले शनिबार नै बराहक्षेत्र चतराधाममा तारकब्रह्म महायज्ञको उदघाटन गर्ने कार्यक्रम छ ।