काठमाडौँ, पुस १ : आफ्ना एकजना केन्द्रीय सदस्य पक्राउ परेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले राज्यले स्वेत आतंक मच्चाएको जनाएको छ। विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दिपेश राई र उदयपुर जिल्ला इन्चार्ज सुरेन्द्र थापालाई प्रहरीले मंगलबार उदयपुरको कटारीबाट पक्राउ गरेको थियो।
दुई नेता पक्राउ परेपछि विप्लवका सगरमाथा ब्यूरो इन्चार्ज अनुभव क्रान्तिले एक विज्ञप्ति निकाल्दै राज्यले आतंक नरोके देश हिंसातिर जाने चेतावनी दिएका छन्।
‘केपी ओली नेतृत्वको सरकारले जनताका घरघरमा पसेर आतंक मच्चाइरहेको छ। यही आतंकका क्रममा हाम्रा दुई नेताको गैरकानुनी गिरफ्तारी गरिएको छ’, उनले भनेका छन्, ‘पक्राउ परेका सबै बन्दीहरुलाई रिहा नगरे देश थप झडप र हिंसातिर जानेछ। यो अवस्थाको जिम्मेवार स्वयम् ओली नेतृत्वको सरकार हुनेछ।’
प्रहरीले उदयपुरको कटारी नगरपालिका–६ रिस्कु बाट (विप्लव) नेकपाका केन्द्रीय सदस्य भोजपुरको बेया निवासी दिपेश राई र उदयपुर जिल्ला ईचाज सुरेन्द्र थापालाई मंगलबार पक्राउ गरेको थियो। सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता कार्यकर्तामाथि प्रहरीले निरन्तर धरपकड जारी राखेको छ। विप्लवका करिब ६ सय भन्दा धेरै नेता कार्यकर्ता एक वर्षबीचमा देशभरबाट पक्राउ परिसकेका छन्।
