काठमाडौं, कात्तिक ४: काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको मापन गरिएको छ ।
दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए ।
अघिल्लो वर्षको तुलनामा छिट्टै चिसो बढेको हो । मौसमविद् मीनकुमार अर्यालले वायुमण्डलको प्रभावका कारण चिसो बढेको बताए । धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको हो, उनले भने । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।
सिजनल इफेक्टले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुनेछ ।
अबको केही समयमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ, मौसमविद् अर्यालले बताए । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी दैनिबाट