देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालामा कोरोनाको परीक्षण ठप्प

| 2021 Jun 28 | 07:33 am 1349

काठमाडौं, असार १४ः देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ ।

जसमध्ये पछिल्लो २४ घण्टामा ३४ प्रयोगशालाबाट एक जनाको पनि कोरोना परीक्षण नभएको देखिएको छ । यसरी हेर्दा केही दिनयता कोरोना परीक्षण निकै घटेको पाइएको छ ।

पछिल्लो २४ घण्टामा कोसी अस्पताल विराटनगर, न्युरो कोभिड अस्पताल विराटनगर, धनकुटा अस्पताल, नारायणी अस्पताल वीरगन्ज, जलेश्वर अस्पताल, सिराहा अस्पताल, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण नै नभएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ ।

यस्तै, वीरेन्द्र अस्पताल छाउनी, केएमसी अस्पताल काठमाडौं, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल काठमाडौं, हेटौंडा अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भेरी अस्पताल नेपालगन्जमा पनि पछिल्लो २४ घण्टामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेन ।

यस्तै, डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालगायत प्रयोगशालामा परीक्षण संख्या शून्य रहेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.