देवघाटमा शिवको मुर्ति राख्न पशुपतिमा महायज्ञ गरिने

रिपोर्ट नेपाल | 2019 Mar 24 | 11:42 am 2937

काठमाडौँ, चैत्र १० : पवित्र धार्मीकस्थल देवघाटमा राखिने तीस फिट अग्लो भगवान शिवको मुर्ति निर्माण गर्नका लागि काठमाडौँको पशुपतिमा शुरु हुने विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियानलाई तीब्रता दिने निर्णय गरिएको छ । महायज्ञलाई व्यवस्थित बनाउन र प्रचारप्रसार गर्नका लागि विभिन्न उपसमिति बनाएर कार्यक्रमलाई तीव्र गतिले अगाडि बढाइएको छ ।

तनहुँ जिल्लाको देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु संकलन गर्ने उद्देश्यले आगामी वैशाखमा महायज्ञ हुनलागेको हो । महायज्ञका विषयमा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीलगायत सरकारी अधिकारीसँग छलफल गरिएको छ ।

सो क्रममा सचिव ओलीले देवघाटको धार्मिक पर्यटन विकासका लागि शिवमूर्तिले महत्वपूर्ण भूमिका खेल्ने भन्दै महायज्ञ सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदी, वन अनुसन्धान प्रशिक्षण विभागका महानिर्देशक दीपक खनाल, वन विज्ञान अध्ययन संस्थानका डिन कृष्णराज तिवारी, महालेखा परीक्षकको कार्यालयका कर्मचारीलगायत अन्य धर्मालम्बिको सहभागिता रहेको थियो ।

आगामी वैशाख १ देखि ११ गतेसम्म हुनलागेको पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद् भागवत् विराट ज्ञान महायज्ञको प्रचारप्रसारअन्तर्गत काठमाडौँको नागार्जुनस्थित रानीवनमा नाग भूषण मन्दिर संरक्षण एवं सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडाको संयोजकत्वमा स्थानीय क्षेत्रमा प्रचारप्रसार तथा आर्थिक सहयोग संकलन उपसमिति गठन भएको छ ।

झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्रामगृह, पार्क निर्माण गर्ने योजना रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.