चितवन, असार ३१ः चितवन, नवलपरासी र तनहुँ तीन जिल्लाको संगमस्थल देवघाटमा यसपटक बोलबम मेला नलाग्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम भएकोले यसपटक मेला नहुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।
तीन जिल्लाका स्थानीय प्रशासनसँग छलफल गरेपछि समिति मेला नगर्ने निर्णयमा पुगेको क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको भनाइ छ ।
देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्थ्यो । यहाँ करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ ।
यस वर्ष भिडभाड रोक्न देवघाट प्रवेशद्धार आँपटारीमा नै निगरानी बढाइने अध्यक्ष पौडेलले बताए । ठिमुरा, दासढुङ्गा, आपँटारीमा सशस्त्र प्रहरी र जनपथ प्रहरी राखेर रोक लगाउँछौं, अध्यक्ष पौडेलले भने, मेला नहुने भएपछि हामीले कुनै तयारी पनि गरेका छैनौं । स्नानघाट व्यवस्थापन गर्ने, स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारीसमेत गरिएको छैन ।
समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले स्नानका लागि ठूलो भिड लाग्ने र त्यहाँ गएर भौतिक दुरीसमेत कायम गर्न नसकिएकने भएकाले मेला भर्न आउनेलाई रोक लगाइने बताए ।
सरकारले यसअघि नै देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ ।