काठमाडौँ ४ वैशाख २०८२ / नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे बैठकमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन्।
बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी रहेका छन्। नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बैठक सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी छ।
बैठकमा एक सहभागी नेताका अनुसार दुई घण्टादेखि बैठक चलिरहेको जानकारी दिए। बैठकमा पार्टीका नेताहरुले सरकारको कामलाई लिएर पछिल्लो समय जनाएको असन्तुष्टि लगायतका विषयमा छलफल भइरहेको हो।
पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामको गतिलाई लिएर लगातार असन्तुष्टि व्यक्त गरिरहेका छन्। त्यसमा उपसभापति पूर्णबहादुर खड्का पनि थपिएका छन्।