काठमाण्डौ ०६ चैत / काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमाललाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
चैत ५ गते प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र रामकुमार धिमाललाई हतियार सहित सर्वोच्च अदालत छिर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रसाईंले जर्मनीमा निर्मित अर्धस्वचालित यो हतियार इटालीबाट मगाएको इजाजत पत्रबाट खुल्छ। यो हतियार ‘नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिंड्न र प्रयोग गर्न पाउने’ इजाजत पत्रमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भए पनि प्रहरीले शुरूमा निषेधित क्षेत्रमा हतियार सहित हिंडको भन्दै खड्का र धिमाललाई पक्राउ गरेको थियो। इजाजत पत्रमा हतियारबाहक दीपक खड्का भए पनि धिमालका साथबाट पनि हतियार बरामद भएको प्रहरीले दाबी गरेको थियो।
मुलुकी अपराध संहिताको हातहतियार तथा खरखजना कसूर सम्बन्धी परिच्छेदको दफा १३२ को प्रावधान विपरीत प्रसाईंलाई इजाजत दिइएको अनुसन्धानबाट खुलेको छ । उक्त दफामा इजाजत पत्रको शर्त तथा बन्देज विपरीत हुने गरी हतियार राख्न, भण्डारण गर्न, लिएर हिंड्न वा प्रयोग गर्न नपाइने व्यवस्था छ।
यो मुद्दामा चैत ६ गते निर्णय सुनुवाइको मिति तोक्न आदेश भएको छ।