दुर्गम बस्तीमा विद्युत्

| 2022 Aug 31 | 10:34 am 1405

कालीकोट, भदाै १५: भौगोलिक रूपमा अति विकट महावै गाउँपालिकामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छ। सदरमुकाम मान्मा हुँदै जुम्लाको लाइनबाट महावैको पादमघाटमा विद्युत् सेवा पुगेको हो।

‘राष्ट्रिय प्रसारण लाइनबाट बिजुली गाउँपालिकाको केन्द्र पादमघाटमा पहिलो पटक पुगेको छ। अब हामी सबै वडामा लाइन विस्तार गरी दुर्गम बस्तीहरूलाई चाँडै उज्यालो बनाउँदैछौं,’ गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले भने, ‘यसबाट धेरै कामहरू गर्न सहज हुनेछ।’

पालिका केन्द्रमा विद्युत् नभएकै कारण इन्टरनेटको समस्या थियो। जसले पालिकाका अत्यावश्यक काम सदरमुकामबाट गर्नुपर्ने बाध्यता थियो। एक वर्ष अगाडि मात्रै सदरमुकाम खाँडाचक्र नगरपालिकामा राष्ट्रिय प्रसारण लाइन पुगेको थियो।

तीन वर्ष लगाएर दैलेखबाट कालीकोटमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो। त्यसपछि स्थानीय सरकारको पहलमा जिल्लाका अन्य स्थानीय तहमा पनि यसको विस्तार गर्ने कार्य भइरहेको छ।  यस्तै तिलागुफा नगरपालिका पनि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। जुम्लाको सिमानामा रहेको तिलागुफा नगरपालिका विद्युत् सेवा अभावकै कारण टेलिफोन सेवाविहीन थियो। ‘बल्ल नगरपालिकामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ, अब नगरका दुर्गम बस्तीसम्म विस्तार गर्नेछौं,’ उपमेयर महेन्द्रबहादुर शाहीले भने, ‘अब दुर्गममा दियालो र सोलान बाल्नुपर्ने बाध्यता अन्त्य हुनेछ। टेलिफोन सेवा पनि नियमित बन्नेछ।’

यस्तै रास्कोट नगरपालिका, पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकामा पनि राष्ट्रिय प्रसारण लाइन विस्तारको लागि काम अगाडि बढिरहेको छ।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.