आशा र आशंका बोकेर फर्किए निर्मलाका आमाबाबु

| 2018 Sep 18 | 06:53 am 2656

काठमाडौं, असोज २: एक साताअघि कञ्‍चनपुरको भिमदत्त नगरपालिका-१९ मा बलात्कारपछि हत्या गरिएकी छोरी निर्मला पन्तका लागि न्याय माग्‍न एक साता अघि काठमाडौं आएका निर्मलाका आमाबुबालार्इ प्रधामन्त्री निवासमै अपमान गरिएको छ।

१३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भौतारिरहेका बाबुआमाले प्रधानमन्त्रीलार्इ भेटेर घटनाको यथार्थ बताउने र न्याय पाउने आशा राखेर बालुवाटार पुगेका उनीहरुलार्इ न्यायको विश्वास त के थप शंका-उशंका उब्जाएको खबर नयाँ पत्रिका दैनिकमा छ।

सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र दिन जाने क्रममा उनीहरु माथि अपमानजनक व्यवहार भएको हो। प्रधानमन्त्री ओलीसँग भेट गर्न जाँदा नेकपाका नेताहरुले नै अपमानजनक व्यवहार गरेको बाबुआमासँगै पुगेकी मानवअधिकारकर्मी मिना भण्डारीले बताइन्।

‘नेकपाका नेता कर्ण थापाले हामी र निर्मलाका आमाबुवालाई अपमानजनक व्यवहार गर्नुभयो, तिमीहरु बाहिरबाट परिचालित छौ भनेर प्रधानमन्त्रीकै अगाडि भन्नुभयो’, उनले भनिन् । आफुहरुलाई सुरक्षाकर्मी लगाएर बाहिर निकाल्न खोजिएको र निर्मलाकी आमा हुँ भनेपछि सुरक्षाकर्मी सतर्क भएको निर्मलाकी आमाले बताइन्।

‘प्रधानमन्त्रीलेसमेत टेलिभिजनमा बोलेका सबै झुटहरु स्पष्ट गर्ने मन थियो । तर मलार्इ सबै था’छ भनेर केही बोल्नै दिनुभएन’, निर्मलाकी आमाले भनिन्।

प्रधानमन्त्री निवासमै यसरी अपमानित भएपछि न्याय पाउने आशंकालार्इ मलजल गरेको छ।

राष्ट्रपतिले भेट्नै मानिनन्

निर्मला पन्तका आमाबाबुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गर्न अस्विकार गरेकी छन्। पन्त दम्पतिले भेट गर्न खोज्दा भण्डारीले समय दिन नमानेको उनीहरुको गुनासो छ । १० दिन देखि भण्डारीलाई भेट्न खोज्दा आफुहरुलाई समय नै नदिएको निर्मलाका बाबुआमाले गुनासो गरे ।

न्यायका निम्ति विशिष्ट व्यक्तिहरुसँग भेट गर्न काठमाडौं आएका उनीहरुले भण्डारीसँग पनि भेट गर्न प्रयास गर्दा पनि समय नदिएको निर्मलाकी आमाले गुनासो गरिन् ।

समिति थपिँदै, अनुसन्धान शून्य

निर्मलाको बलात्कारपछि हत्या भएको २ महिना हुनै लाग्यो। साउन १० गते बलात्कारपछि उनको हत्या भएको थियो। साउन ११ गते निर्मलाको शव गाउँनजिकैको उखुबारीमा फेला परेको थियो।

साउन ११ देखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन।

‘अझैसम्म खासै ठोस प्रमाण फेला पर्न सकेन,’ कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भने, ‘गहन ढंगले अनुसन्धान भइरहेको छ तर अपराधी को हुन् भन्ने स्पष्ट भइसकेको छैन ।’ उनले अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरे । ‘पत्रपत्रिका, सामाजिक सञ्जाल, बजारका चर्चासमेतलाई सूचना मानेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

अपराधी पत्ता लाग्न जति ढिलो हुँदै गएको छ, त्यहीअनुरूप दिनहुँजसो विभिन्न कोणबाट थप आशंका देखा पर्न थालेका छन् । पछिल्लो घटना क्रममा प्रहरी हेडक्वाटरले जसरी एकपछि अर्को उच्च अधिकृत नेतृत्वमा छानबिन समिति गठन गर्दै गएको छ, त्यसबाट घटनाको सुरुको अनुसन्धानमा व्यापक त्रुटि भएको छर्लंग हुँदै गएको देखिन्छ ।

प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यात नेतृत्व समितिलाई घटनाको प्रारम्भिक अनुसन्धानमा संलग्न सबै दर्जाका प्रहरीमाथि छानबिन गर्ने काम तोकेपछि यतिबेला प्रहरीलाई संगठनभित्रका प्रमाण नष्ट गर्ने दोषी पत्ता लगाउने काम पनि थपिएको छ ।

‘हो, अहिले तत्कालीन एसपीका अंगरक्षक, गाडी चालकदेखि निर्मला घटनाको सुरुको अनुसन्धानमा संलग्न र मुद्दासँग संलग्न रहेका सबै तहका प्रहरीलाई केन्द्रमा झिकाइएको छ,’ एसपी कडायतले भने, ‘उनीहरू केही काठमाडौंमै थिए, केही सोमबारै जाँदैछन् ।’

उनका अनुसार सबै मिलाएर करिब १५ जनाजति केन्द्रमा झिकाइएका हुन् । प्रारम्भिक अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गरेको आरोपका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, गृहका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयंले महेन्द्रनगरमा पत्रकार सम्मेलन तथा सार्वजनिक कार्यक्रममै उल्लेख गरेका हुन्।

यसरी निरन्तर अनुसन्धान समिति गठन गरिएपनि अनुसन्धान भने शून्‍यमा नै छ। अब न्याय पाइन्छ भन्‍नेमा निर्मलाका आमाबुबालार्इ नै श‌ंका उब्जाएको छ। यही शंका, अपमानित व्यवहार सहेर निर्मलाका आमाबुबा सोमबार कञ्‍चनपुर फर्किएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.