दुई वर्षपछि ८ अर्बको कारोबार, सेयरमा उछाल

| 2024 Jan 17 | 08:40 am 785

काठमाडौँ, माघ ३। ०७८ पुस २८ गते ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसयता सेयर बजार घटेको घट्यै थियो । एकातिर कारोबार रकम घटेको थियो त अर्कोतिर सेयर भाउ पनि उस्तै थियो । सेयर बजारमा दैनिक कारोबार खुम्चिएर ४५ करोडमा झरेको थियो । मंगलबार भने सेयर बजारमा ‘चमत्कार’ छायो । लगभग दुई वर्षअघि कै अवस्थामा बजार फर्कियो । ८ अर्ब २ करोड ३८ लाख बढीको कारोबार भयो । एकातिर सेयर बजारमा हरियाली छायो, अर्कोतिर निराश लगानीकर्तामा खुसीको रक्तसञ्चार भयो ।

मौद्रिक नीति समीक्षामा लिइएको सेयर बजारप्रतिको लचकता र बैंकले निक्षेपको दर घटाएका कारण सेयर बजारमा उछाल छाएको विश्लेषकहरू बताउँछन् । उनीहरू, अब सेयर बजारले उचाइ लिने आशा व्यक्त गर्छन् । मंगलबार ३०४ धितोपत्रको कारोबार भएको थियो । जसका २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएका थिए ।

अर्थात्, ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । पछिल्लोपटक ०७८ पुस २८ गते ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता कारोबारको आकार क्रमशः घटेको थियो । कारोबार खुम्चिँदा लगानीकर्ता निराश थिए । ०८० मंसिर २४ गते त सबैभन्दा कम ४५ करोड १२ लाख ९९ हजार ८७ रुपैयाँको मात्रै कारोबार भयो ।

राष्ट्र बैंकले आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा गर्दै अवलम्बन गरेको नीतिगत व्यवस्थाले लगानीकर्तामा उत्साह जागेको थियो । ०८० मंसिर २५ गतेदेखि कारोबारको आकार बढ्दै गयो । बैंकहरूले ब्याजदर घटाउँदै गएपछि सेयर बजार चम्किँदै गयो ।

सेयर विश्लेषक देव गुरागाईं बैंकले ब्याजदर घटाउँदै लगेको र सेयर कर्जा पनि पाउने अवस्था सिर्जना भएकाले बजारमा उछाल आएको बताउँछन् । ‘माघ लागेपछि कर्जा भटाभट स्वीकृत हुन थालिसकेका छन् । केही दिनमा खातामा पैसा आउने निश्चित भएको छ’, गुरागाईंले अन्नपूर्णसँग भने, ‘यसैले सेयर कारोबारको आकार बढ्यो । अबका दिनमा यस्तो भोलमको आकार अझै बढ्छ ।’

सेयर विश्लेषक गुरागाईंका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउन लागेकाले पनि लगानीकर्ताहरू आशावादी भएका हुन सक्छन् । ‘३ वर्षअघिका लगानीकर्ता तिनै हुन, नयाँ थपिएका छैनन्’, उनले भने, ‘उनीहरू बढी हौसिनेभन्दा पनि सम्हालेर कारोबार गर्न खोजेको देखिन्छ ।’

अधिकांश कम्पनीले पुसमा साधारणसभा गरेर लाभांश पारित गरिसकेका छन ।  यस वर्ष लाभांश नदिने कम्पनीको संख्या पनि धेरै छ । तर, पनि लगानीकर्तामा आकर्षण भने राम्रै देखिन्छ । यसले गर्दा धितोपत्र बजारमा लाभांशको प्रभाव खासै नपरेको प्रष्ट देखिन्छ । यद्यपि मार्जिन प्रकृतिको कर्जा लिएर कारोबार गर्ने भएकाले पनि सेयर कारोबारमा ब्याजदरको प्रभाव परेको हो ।

बैंक तथा वित्तीय संस्थामा अधिक लगानीयोग्य पुँजी (तरलता) भएपछि बैंकहरूले पछिल्ला हरेक महिना निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । जसले गर्दा माघ लागेसँगै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर साविकको भन्दा औसत ०.८२ प्रतिशत बिन्दुले घटेको छ । मंगलबार नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुग्यो । सेन्सेटिभ इन्डेक्स २.३८ प्रतिशतले बढ्यो । आइतबार नेप्से परिसूचक ३१.६२ अंकले बढेको थियो ।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.