दुई महिनाभित्रै सरकारले दिँदै छ एक लाख ६ हजार बेरोजगार युवालाई रोजगारी

रिपोर्ट नेपाल | 2019 May 14 | 10:34 am 1650

काठमाडौं, वैशाख ३१ : अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाएको छ ।

बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको छ । सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्षभित्र १ लाख भन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागिएको हो ।

बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ ।

स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन् । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।

सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोजगारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय गरिसकेको छ । यस आर्थिक वर्षमा सय दिन रोजगारी उपलब्ध गराउन नसकिएकाले एक महिनाको लागि मात्रै रोजगारी दिने गरी बजेट पठाइएको हो ।

के कामका लागि पारिश्रमिक योजना?

यो प्रत्येक स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई पूर्वाधार निर्माण तथा अन्य सार्वजनिकआयोजनामा संलग्न गराएर ज्यालाबापतको रकम नगद भुक्तानी गर्ने गरी अल्पकालीन कार्यक्रम हो ।

अनुदानस्वरूप प्राप्त रकम सम्बन्धित स्थानीय तहका रोजगार सेवा केन्द्रबाट खटिएका श्रमिकको ज्यालामा मात्रै भुक्तानी गर्नुपर्ने सर्त राखिएको छ । सार्वजनिक क्षेत्रबाट कार्यान्वयनमा रहेका आयोजनामा समेत श्रमिकको ज्याला दिन यो रकम खर्च गर्न सकिनेछ । तर, डोजर, एक्स्काभेटर, लोडरलगायतका भारी यन्त्र प्रयोग गरिएका आयोजनालाई भने यो कार्यक्रमले समेट्ने छैन।

यो आयोजना सञ्चालन गर्दा कुल लागतको कम्तीमा ७० प्रतिशत रकम श्रमिकको ज्यालामा खर्च गर्नुपर्नेछ । स्थानीय तहहरूले कार्यक्रमका लागि अनुदानस्वरूप प्राप्त रकममा आफ्नो आन्तरिक बजेट थपेर अझ धेरै रोजगारी दिन आयोजना सञ्चालन गर्न सकिने पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.