दीपक मनाङे मन्त्री बन्दै, आजै शपथको तयारी

रिपोर्ट नेपाल | 2024 Mar 18 | 12:58 pm 689

काठमाडौं, ०५ चैत / आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादी परित्याग गरेका गण्डकी प्रदेशका सांसद दीपक मनाङे आज मन्त्री बन्दैछन् । उनी मूख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा आज मन्त्री नियुक्त हुन लागेको उच्च स्रोतले जनाएको छ । उनले आजै मन्त्रीको शपथ लिने तयारी छ ।

मनाङेले आइतबार गण्डकी प्रदेशमा समाजवादी त्यागेको घोषणा गरेका थिए । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्। कांग्रेसबाट निर्वाचित पाण्डेले माओवादी केन्द्रका मन्त्री बर्खास्त गरेपछि माओवादीले समर्थन फिर्ता लिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् ।

गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङेले पनि मुख्यमन्त्री पाण्डेलाई साथ दिएपछि उनको सरकार जोगिने सम्भावना बढेर गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.