दार्चुला घटना: रोकिएन भारतीय हैकम

| 2022 Dec 07 | 07:31 am 301

दार्चुला, मंसिर २१ः भारतले महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर जिल्ला सदरमुकाम खलंगा बजार डुबान ,कटान र बगाउने गरी सीमा क्षेत्रमा निरन्तर अनधिकृत पक्की संरचना बनाइरहे पनि नेपाल सरकारले त्यसको सशक्त विरोध र प्रतिरोध गर्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भएको छ । महाकाली नदीमाथिको पुलले वारि दार्चुला र पारि भारतको धार्चुला जोड्छ । यहाँका नागरिक व्यापारिक र सामाजिक सम्बन्धका कारण एकअर्कोमा निर्भर छन् ।

भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुनेगरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीय आक्रोशित छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरूले लगाउँदै आएका छन् ।

एक वर्षमा तीनपटक ढुंगा हानाहान

भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरी निर्माण गरिरहेको तटबन्धको विरोध गरिरहेका नेपाली नागरिकमाथि आइतबार अपराह्न करिब ४ बजेतिर दार्चुला पारी भारतको धार्चुलाबाट ढुंगा प्रहार गरिएको थियो ।

भारतीयको ढुंगा प्रहारबाट बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालयनजिक खेलिरहेका चार बालक घाइते भए । बच्चाहरू विद्यालयनजिक खेलिरहेका थिए । पारिबाट प्रहार भएको ढुंगाले चारै जनालाई चोट लाग्यो । तीमध्येका १३ वर्षीय प्रेमसिंह कुँवर पनि एक हुन् । उनको निधारमा चोट लागेको छ ।

ढुंगा हानाहानपछि आक्रोशित भएका सदरमुकाम खलंगाका स्थानीयले दार्चुलाको नेपाल–भारत जोडने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुल नाकामा तालाबन्दी गरेर आवतजावत बन्द गर्नुका साथै भारतीय पक्षको विरोधमा आन्दोलन गरेका थिए ।

ढुंगा हानाहानपछि बन्द गरिएको अन्र्तराष्ट्रिय पुल नाका प्रहरीले सामान्य बल प्रयोग गरी केही घण्टामै खुलाएको थियो । नाका खुलाएपछि वारि र पारि दुवै देशतर्फ फसेका सयौं यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका थिए ।

एमालेका सुदूरपश्चिम अध्यक्ष तथा बैतडीका संघीय सांसद दामोदर भण्डारीले दार्चुलामा भइरहेको भारतीय ज्यादतीको विरोध गरेका छन् । ‘भारतीय पक्षबाट सीमानामा एकतर्फी गर्ने कुनै पनि निर्णय एमालेलाई मञ्जुर छैन, नेपाली जनतालाई स्वीकार छैन,’ अध्यक्ष भण्डारीले भने, ‘म तत्काल सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्दछु । त्यो क्षेत्रको माननीय दिलेन्द्र बडुज्यूले पनि यस’bout मुख खोल्नुप¥यो ।’ त्यस क्षेत्रमा सांसद तथा सरकारका मन्त्री बडुले भने यस विषयमा हालसम्म पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।

आइतबारको घटनापछि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसहितको टोलीले भारततर्फ गएर उताको प्रशासनसँग छलफल गरेको थियो । छलफलमा भारतको रिङनेतालपारि थुप्रिएको ढुंगामाटो एवं ग्याबिन जाली हटाउने, नदीलाई बीचमा पार्ने मौखिक सहमति र अब भारतले माथिल्लो भागमा संरचना बनाउँदा परामर्श गर्ने समझदारी भएको प्रजिअ उपाध्यायले बताए ।

केही समययता सीमा क्षेत्रमा तटबन्धको विषयलाई लिएर द्वन्द्व सिर्जना भइरहेको छ । त्यो समुदायस्तरमा समेत फैलिने चिन्ता अधिकारीहरूले गरेका छन् । कालापानीको मुद्दाले पनि बल पाइरहेको अवस्थामा पछिल्लो तनावले उनीहरू झस्किएका छन् ।

२०७८ फागुन २४ मा कम्पनीले नदीभित्रै एक्स्काभेटर लगेर खन्न थालेपछि नेपालतर्फबाट विरोध सुरु भएको थियो । त्यतिबेला पनि दुवैतर्फ ढुंगा हानाहान भएको थियो । त्यसअघि पुसमा पनि यस्तै घटना भएको थियो । एक वर्ष नपुग्दै आइतबार पुनः दुईतर्फी ढुंगा हानाहान भएको हो ।

महाकाली नदीको बहाव साँघुरो पार्दै नदीका चार भँगालोलाई भारतले एकत्रित पारेको छ । भारतीय पक्षले बलपूर्वक नेपालतर्फ नदीको धार सोझ्याएको भन्दै स्थानीयले विरोध गर्दै आएका हुन् ।

तटबन्ध निर्माणको काम भारतको अरुण कन्स्ट्रक्सन कम्पनीले ८० करोड भारुमा ठेक्का पाएको हो । बनाउन लागेको संरचना झोलुंगे पुलको एक तिहाइभन्दा बढी क्षेत्रमा आएको छ ।

भारतले पछिल्ला दिनमा नदीको धार परिवर्तन हुनेगरी निर्माण गरिरहेको तटबन्धले सदरमुकाम खलंगा जोखिममा पर्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप उनीहरूले लगाउँदै आएका छन् ।

सीमामा बारम्बार तनाव हुँदा पनि सरकार मूकदर्शक बनेको स्थानीयको आरोप छ । सीमा क्षेत्रमा भारतीय पक्षको निरन्तरको दादागिरी रोकिनुपर्ने र दुवै देशको सहमतिमा महाकाली नदीमा तटबन्ध निमार्ण हुनुपर्ने स्थानीयको माग छ ।

भारतले यसरी निर्माण गरेको तटबन्धका कारण जिल्लामा जुनसुकैबेला सोच्दै नसोचेको घटना घट्न सक्ने खतरा रहेको स्थानीयले बताएका छन् । भारतले बनाइरहेको संरचना अन्तर्राष्ट्रिय सन्धिविपरीत रहेको छ ।

प्राकृतिक प्रकोप तथा विपत्ति रोकथाम तथा नियन्त्रणका लागि कुनै संरचना बनाउनैपरे एकअर्को मुलुकसँग समन्वय र सहमति लिनुपर्ने भए पनि भारतले महाकाली नदी क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ ।

यसरी सीमा क्षेत्रमा नेपालसँग सल्लाह नै नगरी एकतर्फी तटबन्ध गर्न नहुने भन्दै नेपाली पक्षबाट विरोध हुँदै आएको भए पनि भारतीय पक्षले बेवास्ता गर्दै आएको छ । भारतीय पक्षले सीमा सुरक्षा बल (एसएसबी)को आडमा काम गर्दै आएको छ ।

भारतीय पक्षले धौलीगंगाको बाँध खोले दार्चुला जिल्ला सदरमुकाम जुनसुकैबेला कटान र डुबानमा पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । गत बर्सातमा महाकाली र लास्कु खोलामा आएको बाढीले बांगाबगर क्षेत्रमा निर्माण गरेको तटबन्ध डुबाएकाले भारतीय पक्षले निर्माण गर्ने तटबन्धका कारण दार्चुला खलंगा फेरि सखाप हुने देखिएको छ ।

भारतले यसरी महाकालीको धार नेपालतर्फ धकेल्न अनधिकृत पक्की तटबन्ध बनाइरहँदा नेपाल सरकार भने मौन स्थानीयको आरोप छ । यसप्रति परराष्ट्र मन्त्रालयले चासो नै दिएको छैन ।

सीमावर्ती छाङरुदेखि दार्चुला सदरमुकाम खलंगासम्म दुई वर्षमा मात्र भारतीय ज्यादतीका कारण दर्जन घटना घटिसकेका छन् । २०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएपछि व्यास–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

२०७८ जेठ २५ मा भारतले गर्वाधार क्षेत्रमा सडक खन्दा गराइएको विस्फोटले नेपालतर्फ व्याँस गाउँपालिका–२ को दुम्लिङ र कल्जु गाउँ जोड्ने घोरेटो बाटो तहसनहस भयोे । यसैगरी २०७९ कात्तिक ११ गते महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको ज्यान गएको थियो ।

दार्चुलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेको भारतले सीमावर्ती क्षेत्रमा पटकपटक ज्यादती गरिरहेको छ ।

एमालेको विरोध , काम तत्काल रोक्न माग
नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रूपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गर्दै सो कार्यको तीव्र विरोध गरेको छ । महाकाली नदीको धार नै परिवर्तन हुनेगरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारले प्रतिरोध गर्न नसकेको भन्दै एमालेले प्रश्न उठाएको हो ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदी नेपाल र भारतको सीमा भएकाले भारतले नेपालाई असर पर्नेगरी एकपक्षीय रूपमा संरचना बनाउन नमिल्ने बताए ।

‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रूपमा बनाउन मिल्दैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुनेगरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकाले केन्द्रबाट नै पहल हुनुपर्छ,’ विदेश विभाग प्रमुख भट्टराईले भने । उनले नदीको धार नै परिवर्तन हुनेगरी महाकालीमा भइरहेको कामलाई रोकेर द्विपक्षीय वार्ताबाट सहमति खोज्न उनले सरकारलाई आग्रह गरेका छन् ।

सीमा विवाद सागर ढकालको बयान
डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका सागर ढकालले दार्चुला घटनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको धारणालाई समर्थन गर्दै केही आश जागेको बताएका छन् । ‘अब बोल्ने कोही भएकाले’ आशा जागेको उनको भनाइ छ । ‘म केही दिन अघि दार्चुला आफैं पुगेर फिल्डको अध्ययन गरेको थिएँ । राष्ट्रिय स्वतन्त्र पार्टीको यो विज्ञप्तिमा मेरो सहमति छ तर अब विज्ञप्तिभन्दा अझ एक कदम अगाडि जानुहुन अनुरोध छ,’ उनले लेखेका छन् । उनले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउन आग्रहसमेत गरेका छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.