दसैं, तिहार तथा छठ पर्वलाई ध्यानमा राखेर भाटभटेनीले ल्यायाे छुट योजना

| 2024 Sep 23 | 05:57 pm 441

काठमाडौँ, आश्विन ०७ / भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरी रहेका सबै स्टोरबाट असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म विभिन्न सामग्री खरिदमा छुट प्रदान गर्ने भएको छ।

दसैं, तिहार र छठ लगायत पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीले जानकारी दिएको छ ।

भाटभटेनीका अनुसार रेडिमेड गार्मेन्ट देखि लिएर सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। त्यसैगरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ।

सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ।

जिरा मसिनो स्टिम चामल दुई हजार २२० रूपैयाँमा प्रदान गर्न लागिएको छ। अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल प्राप्त गर्न सकिनेछ।

त्यसैगरी, प्रिमियम सोना मनसुली चामलमा प्रति के.जी १२ रूपैयाँ छुट प्रदान गर्दै चाडपर्व अफरमा एक हजार ५९० रूपैयाँमै प्राप्त गर्न सकिने भएको छ।

त्यसैगरी अन्तराष्ट्रिय ब्रान्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको छ।

चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ।

यो अफर योजनामा लङग्रेन चामल २० के.जीको ३ हजार २२५ रूपैयाँमा उपलब्ध गराउन लागिएको छ।

त्यसैगरी, मुसरको दाल प्रति के.जी १४८ रुपैयाँ, मासको दाल प्रति के.जी २१३, रहरको दाल प्रति के.जी २८८ रुपैयाँ, मुँगको दाल प्रति के.जी १६७ रूपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रूपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ।

तोरीको तेल प्रतिलिटर २७९ रूपैयाँ, सनफ्लावर तेल प्रतिलिटर २०२ रूपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रूपैयाँमा उपलब्ध गराउन लागिएको छ।

डिडिसीको घ्यू प्रति केजीमा ८१ रूपैयाँ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ। चिनी प्रति के.जी १०२ रूपैयाँ र चिया प्रतिके.जी ५२५ रूपैयाँमा उपलब्ध गराउन लागिएको छ।

त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्न लागिएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.