काठमाडौँ, आश्विन ०५ / शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरूबिच भएको बैठकले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट छिटै खोल्ने निर्णय गरेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरू सहभागी छलफलले वीपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय/नेपाल प्रहरीमा आग्रह गर्ने समेत निर्णय भएको छ । यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरी मन्त्रालयमा रिपोर्टिङ गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै यात्रुहरूको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुल्ला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलतर्फ जाने गरी व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभाग अन्तर्गतका सबै सडकहरू घटस्थापना अघि नै मर्मत संहार गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।