काठमाडौं- दसैँको लागि शुक्रबारबाट खुल्ने भनिएको लामो दुरीको अग्रिम बस टिकट नखुल्ने भएको छ। यातायात व्यवसायीले महान चाँड दशैंको मुखमै आएर इन्धनको मूल्यवृद्धि गरेपछि अग्रिम टिकट बुकिङ नखोल्ने चेतवानी दिएका हुन्।
यातायात व्यवसायीहरु र यातायात व्यवस्था विभागले आइतबार मात्रै दुई घन्टासम्म बैठक बसी आसोज ५ गतेदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो।
यद्यपि मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पछिल्लो समय सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै बढेको मूल्य फिर्ता नलिए महासंघले अग्रिम बुकिङ खुला गर्न बाध्य नहुने स्पष्ट पारेको छ।
महासंघकाअनुसार यातायत व्यवस्था विभागसँग भएको सहमति बमोजिम यातायात व्यवसायीले असोज ५ अर्थात शुक्रबार बुकिङ खुलाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मंगलबारदेखि लागू हुने गरी सरकारले प्रतिलिटर पेट्रोलमा २, डिजल र मट्टीतेलमा ३ रुपैयाँ बढाएको छ । त्यस्तै दुई हप्ताअघि भदौ २० गते राति १२ बजेदेखि लागू हुने गरि पनि प्रतिलिटर पेट्रोलमा १, डिजेल-मट्टीतेलमा ३, प्रतिसिलिन्डर ग्याँसमा २५ रुपैयाँ बढाएको थियो ।
महासंघका अध्यक्ष योगदेन्द्रनाथ कर्माचार्यले यी मूल्य वृद्धिलाई सरकारले ४८ घन्टाभित्रमा फिर्ता लिन अपिल गरेका छन् । यदि महासंघको अपिलको सुनुवाइ नभए दशैको लागि अग्रिम टिक बुकिङ खुला नगर्ने स्पष्ट पारेको छ ।
‘यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटक-पटक बढे पनि भाडा समायोजन हुनसकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौँ’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने।
महासङ्घमा ३०७ समिति आबद्ध थिए । त्यसमध्ये २४५समितिको बैंकमा खाता रहेकाले रोक्का भएको र ६२ को खाता सहकारी एवं वित्तीय संस्थामा रहेकाले सञ्चालनमै रहेको यातायात क्षेत्रको सुधारमा लाग्नुभएका रामबहादुर थापाले बताए ।