दशैंमा सेना र सशस्त्रको निःशुल्क बस, कहाँ–कहाँ चल्छन् ?

रिपोर्ट नेपाल | 2019 Oct 05 | 02:55 pm 2272

काठमाडौं, असोज  १८ : नेपाली चाड वडादशैंको अवसरमा नेपाली सेना र सशस्त्र प्रहरीले सर्वसाधरणका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएका छन् ।

नेपाली चाड दशैंमा सशस्त्र प्रहरीले पनि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नेपाली सेना जस्तै सशस्त्रले पनि तीन दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

नवमी, दशमी र एकादशीका दिन सशस्त्रको बस राजधानीमा बिहान ८ बजेबाटै चल्ने भएको छ । दशैंमा सार्वजनिक बस कम चल्ने भएकाले सशस्त्रले बस चलाउने भएको हो ।
सशस्त्रको बस ठूलो भर्‍याङ–बनस्थली–बालाजु भएर चल्ने छ । सशस्त्रको अर्को रुट सीतापाइला–कलंकी–बल्खु भएर चल्ने जनाइएको छ ।

यस्तै दशैंको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन हुने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पु(याउने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको हो । दशैंको दिन सेनाले विभिन्न सात रुटमा बस सञ्चालन गर्नेछ । सेनाका बस बिहान, दिउँसो र साँझ सञ्चालनमा आउने छन् ।

सेनाका मुख्यालय भद्रकालीलाई केन्द्र मानेर ती बस सञ्चालन हुनेछन् । बिहान ८ देखि १०ः३०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ ।

भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा, भद्रकाली–बल्खु–कीर्तिपुर, भद्रकाली–बानेश्वर–काटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठसम्म सेनाका बस चल्ने छन् ।

यस्तै, भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तीनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु–सीतापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.