काठमाडौं, असोज ६: दशैंको मुखैमा सरकार र यातायात व्यवसायीबीच दश प्रतिशत सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको छ। सरकार र यातायात व्यवसायीबची शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । शनिबार भएसँगै आइतबारबाटै नयाँ भाडादर लागू गरिने जनाइएको छ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले मूल्य वृद्धि फिर्ता गर्न आग्रह गरेका थिए। तर, सरकारले मूल्य वृद्धी फिर्ता गर्न नसकिने बताएपछि दश प्रतिशत भाडा बढाउन पाउने सहमति भएको हो।
यसअघि ५ असोजबाट दशैंका लागि खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ सरकारले इन्धनको मूल्य वृद्धि गरेपछि रोकेका थिए। यस सहमतीसँगै यातायात व्यवसायी अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका हुन्। तर, मिति पनि यातायात व्यवसायीले छलफल गरेर चाँडै तय गर्ने तायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।
समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको महासचिव सिटौलाले जानकारी दिए।
वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।
सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।
शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अगि्रम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।