दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि

| 2018 Sep 17 | 06:57 am 2125

काठमाडौं, असोज १: दशैंको लागि अग्रिम टिकट बुकिङ असोज ५ गते देखि खुल्ने भएको छ। दशैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जानेका लागि अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवसायी र यातायत व्यवस्था विभागबीच आइतबार सहमति जुटेको हो।

व्यवसायीहरुलले भाडादर बढाउनु पर्ने, यातायात समितिका बैंक खाता खोल्नु पर्ने लगायतका माग राखेर टिकट बुकिङ खुलाउन मानेका थिएनन्। तर आइतबार विभाग र व्यवसायी बीच भएको छलफलपछि असोज ५ गतेदेखि टिकट बुकिङ खुलाउने सहमति भएको हो।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययका अनुसार ५ गते भित्र भाडामा हेरफर गरिने र बैंक खाताका लागि पनि सरकारले कुनै प्रकारले ‘प्रोसेस’ गरिदिने सहमति भएको छ। उक्त सहमति अनुसार व्यवसायीहरु ५ गतेदेखि अग्रिम बुकिङ खुलाउन सहमत भएका हुन्।

व्यवसायीहरूले घाइतेको उपचार र मृतकको क्षतिपूर्ति दिन नसकिएको भन्दै बैंक खाता सरकारले खोलिदिनु पर्ने माग गर्दै आएका छन्।

त्यस्तै उनीहरुले २०७० सालदेखि भाडा नबढेको भन्दै बढाउनु पर्ने माग गरिरहेका छन्। २०७० सालमा १२ हजार रहेको कर अहिले बढेर ३० हजार पुगेको पनि भाडा दर भने उस्तै रहेको व्यवसायीहरुको भनाइछ। यता विभागले भने यातायातको लागत हेरेर वैज्ञानिक रूपले भाडा व्यवस्थापन गर्ने जनाएको छ।

गत वर्षहरूमा टिकट बुकिङ घटस्थापनाको एक महिनाअघिदेखि खुला गरिँदै आएको थियो। तर यो वर्ष यातायात विभाग र व्यवसायीको छलफल नटुंगिएका कारण टिकट बुकिङमा ढिलाई भएको हो। यो वर्ष असोज २४ गते घटस्थापना परेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.