- महेश सिंह
सिरहा, भदौ २२ः गैरसरकारी संस्था चुजी फाउन्डेसन र ताईवानको आर्थिक सहयोगमा दलित सरोकार नेपाल सप्तरीको सहकार्यमा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ५ बाट राहत वितरण कार्यक्रम सुरु गरेको छ ।
वडाका कुल १ हजार २ सय ३४ घरपरिवारलाई राहत वितरण गर्ने भएको छ । शनिबार पहिलो दिन वडा ५ का दलित समुदायले राहत पाएका छन् भने दोस्रो दिन वडा नम्बर ४ का दलित समुदायका १ सय ५२ जना बिपन्न परिवारले राहत पाएका छन् ।

राहत स्वरुप चामल २५ किलो, गहुँको पिठो १० किलो, १ किलो चना, १ किलो मसुर दाल, १ लिटर खाने तेल, १ किलो नुन, ६ वटा नुहाउने साबुन लगायतका राहत दिइएको वडा नम्बर ४ का अध्यक्ष रमेश गोइतले जानकारी दिए ।
बिगत ७ महिना देखि कोरोनाको मारमा परेका बिपन्न परिवारलाई हात मुख जोडन समस्या भएको स्थानीयको भनाई छ ।
सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादवको अथक प्रयास एवं पहलमा चुजी संस्थाले उक्त गाउँपालिकाका जम्मा १ हजार २ सय ३४ घर परिवारलाई राहत वितरण गर्ने भएको छ ।
चुजी संस्था सम्बद्ध दलित सरोकार मन्च कन्चनपुर सप्तरीका सदस्य एवं सखुवानन्कारकट्टीका कोर्डिनेटर अजय कुमार रामले लामो लकडाउनले बेरोजगारी गुमाएका कारण दलित समुदायलाई हात मुख जोड्न समेत कठिनाइ भोग्नु परेको बताए ।
रामले दलितको कहालीलाग्दो अवस्थालाई मनन् गर्दै यस प्रकारको राहत योजना ल्याएको जनाए ।
चुजी संस्थाले दिएको राहत कार्यक्रमलाई औचित्यपूर्ण बनाउन सखुवानन्कारकट्टीका अध्यक्ष केदारनाथ यादवले खाद्यान्न ढुवानी तथा वितरण गर्ने जनशक्ति गापा स्तर बाटै ब्यवस्थापन गरेको स्रोतले जानकारी दिएको छ ।