थानकोट-रत्‍नपार्क आजबाट साझा चल्ने, तीन रुट थप

रिपोर्ट नेपाल | 2018 Jun 10 | 07:18 am 2996

काठमाडौं, जेठ २७: साझा यातायातले आइतबारदेखि आफ्नो सेवा विस्तार गरेको छ । थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार गर्न लागेको साझा यातायात जनाएको छ ।

उपत्यका र बाहिरसमेत सेवा दिँदै आएको साझा यातायातले उपत्यकामा थप तीन रूटमा सेवा विस्तार गर्न लागेको हो। यसअघिनै साझाले बुङ्गमतिदेखि जावलाखेलहुँदै रत्नपार्कसम्म सेवा दिइरहेको छ।

स्थानीय र जनप्रतिनिधिको आग्रहपछि अहिले उपत्यका भित्र थप तीन रूटमा सेवा थप गर्न लागिएको साझा यातायातले जनाएको छ।

सेमी लो फ्लोर बससहित अहिले ४७ वटा बस रहेको साझाले २ सातापछि ४ वटा बस डिलक्स ल्याउँदैछ। उक्त बसलाई काठमाडौं बाहिर चलाउन प्रयोग गरिने साझाले जनाएको छ। बस आएपछि रूट तय हुने पाण्डेले जानकारी दिए।

यस्तै आगामी ५ महिनामा २० वटा सहरी बस ल्याउने साझाले ४७ बाट बसको संख्या ७१ पुर्‍याउने लक्ष्य राखेको छ। साझाले अहिलेसम्म सूर्यविनायक-स्वयम्भु, पनौती-रत्नपार्क, धुलिखेल-रत्नपार्क, लगनखेल-नयाँ बसपार्क, लगनखेल-बुढानिलकण्ठ रूटमा सेवा दिइरहेको छ।

यस्तै साझाले उपत्यका बाहिर काठमाडौं-बागलुङ रूटमा बस सञ्चालन गरिरहेको छ। यसैबीच साझा यातायाले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.