थला प-यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

| 2023 May 04 | 07:05 am 653

जुम्ला, बैशाख २१ः कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । एकदशकअघिसम्म हवाईजहाजमा बिरामी पठाउने जुम्लाले अहिले मुलुकलाई डाक्टर दिइरहेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीलगायत विकट क्षेत्रको भरोसा बनेको छ ।

पहिले गाउँका विपन्न नागरिक रोग पालेर मृत्यु कुर्न बाध्य थिए । विकटको स्वास्थ्य सेवाको भाष्य बदलेको छ । प्रतिष्ठानले कोरोना महामारीको बेला कर्णालीलाई सुरक्षित राखेर प्रदेशका अधिकांश जिल्लामा ६० जना डाक्टर परिचालन गरेर महामारीविरुद्ध लडेको थियो । ‘प्रतिष्ठान कर्णालीको गौरव हो, कर्णालीको आयु हो, प्राण पनि हो ।’ नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने ।

कर्णालीको आयु बोक्ने प्रष्ठिानको व्यथा

विगतमा स्वास्थ्य सुविधाको त कुरै छोडौं, कसैको अस्वाभाविक मृत्यु भएमा पनि लास पोस्टमार्टमका लागि डाक्टर कुर्नुपथ्र्यो, सामान्य हात खुट्टा प्लास्टर गर्न पनि नेपालगन्ज, काठमाडांैलगायत ठूला सहरमा जानुपथ्र्यो । ‘पैसा हुनेहरू सुविधा सम्पन्न अस्पताल खोज्दै जिल्लाबाहिर जान्थे, विपन्न रोग पालेर मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता थियो,’ श्रीमतीको पाठेघर अप्रेसन गर्न प्रतिष्ठान पुगेका भेरिखोलाका देवीलाल रावलले सुनाए । ‘जुम्लामै अत्याधुनिक सुविधासहितको प्रतिष्ठान हुँदा खाना खर्चबाहेक अरू केही लागेन, विपन्नका लागि यो प्रतिष्ठान भरोसा बनेको छ,’ प्रतिष्ठानमा सस्तो, सुलभ र सहज उपचार सेवा पाउँदा दुर्गमका नागरिक खुसी छन् ।

प्रतिष्ठाने २०७१ सालमा सेवा सुरु गरेपछि हालसम्म ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन् । ३२ हजार ७ सय ४० जनाले अन्तरंग र ४८ हजार ३ सय बिरामीले आकस्मिक सेवा लिएका छन् । त्यस्तै, ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् । भने मेजर अपरेसन ४ हजार ३ सय ८५ वटा गरिएको छ । १४ वटा घरभाडामा लिएर प्रतिष्ठान सञ्चालन भइराखेको छ ।

जुम्लाको चेरे चौरमा शैक्षिक भवन, कलेज होस्टेल, प्रशासनिक भवन, आवासी भवन निर्माणका निम्ति झन्डै साढे ६ अर्ब बजेट आवश्यक पर्ने देखिए पनि सरकारले बेवास्ता गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराईले बताए । ‘चन्दननाथ नगरपालिकाभित्र पर्ने चेरे चौरमा प्रशासनिक तथा शैक्षिक भवन निर्माण गर्न स्थानीय झन्डै ५ सय रोपनी जग्गा दान गरेका छन् तर प्रतिष्ठान बजेट अभावले थला पर्दै छ,’ प्रवक्ता भट्टराईले भने ।

प्रतिष्ठानले हाल एमडी, एमएड, एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएच र बी फर्मालगायतका कक्षा सञ्चालन गरेर जनशक्ति उत्पादन गरिरहेको छ । कर्णालीकै स्वास्थ्य क्षेत्रको धरोहर प्रतिष्ठानमा बजेट व्यवस्थापनका लागि जुम्लाबाट प्रतिनिधित्व गर्ने चारै प्रतिनिधिसभाका सांसदले साझा पहल गर्ने सासंद ज्ञानेन्द्र शाहीले बताए ।

प्रतिष्ठानमा अन्तरक्रिया कार्यक्रममा बोल्दै सासंद शाहीले भने ‘जुम्लाबाट प्रतिनिधित्व गर्ने चारवटै सांसद प्रतिष्ठानका लागि एकै ठाउँमा उभिने छौं, बजेट व्यवस्थापनका लागि आवाज उठाउने प्रतिबद्धता जाहेर गर्छाैं,’ पश्चिम नेपालकै ठूलो स्वास्थ्य संस्थालाई उचित बजेट व्यवस्थापन गरी दुर्गममा स्वास्थ्य पहुँच सुनिश्चित गर्नुपर्ने स्थानीयको माग छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.