काठमाडौं, जेठ २५ : त्रिशुलीमा ट्रक खस्दा दुर्इ जना वेपत्ता भएका छन् भने एक जना सामान्य घाइते भएका छन् ।
भैरहवाबाट काठमाडौंतर्फ आइरहेको ना ५ ख ३४४५ नम्बरको मालबाहक ट्रक शुक्रबार राती ११:३० बजेतिर नारायणगढ- मुग्लिन सडकखण्डको मजिम्टार तिग्रामखानीबाट त्रिशुलीमा खस्दा दुर्इ जना वेपत्ता भएको धादिङ प्रहरी नायब उपरीक्षक डम्बर बहादुर विकले जानकारी दिए ।
डिएसपी विकका अनुसार वेपत्ता हुनेमा चालक टोप बहादुर श्रेष्ठ र नाम खुल्न नसकेको सहचालक रहेका छन् । तीन जना सवार ट्रकमा एक जना तुलसी दुलाल भने पौडी खेलेर निस्कन सफल भएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ ।
वेपत्ताको खोजीका लागि हिजो रातीदेखि नै गोताखोरको टोली लागेपनि धमिलो पानीका कारण अहिलेसम्म फेला पार्न नसकिएको डिएसपी विकले बताए ।