त्रिवि सेवा आयोग परीक्षामा अनियमितता भएको अख्तियारकाे निष्कर्ष

रिपोर्ट नेपाल | 2019 May 16 | 07:56 am 1821

काठमाडौँ, जेठ २: त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्, अख्तियार स्रोतले भन्यो, प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ । थप कागजपत्र हेरेर छानबिन गर्दै छौं । अख्तियार प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको बताए ।

परीक्षामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी संघरसंगठन र राजनीतिक दलका पहुँचवाला नेताहरूका नातागोताको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । यस विषयमा अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो । केन्द्रले छानबिन टोली खटाइसकेको छ । उजुरीपछि टोली बनाएर खटाएका थियौं, केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले भने, अख्तियारले फाइलहरू लिएको जानकारी आएको छ, उनको निर्णय कुरेर बसेका छौं । अख्तियारको छानबिन प्रक्रिया र निर्णयपछि केन्द्रले थप निर्णय लिने उनले जनाए ।

त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा, प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल कृष्ण आचार्य, पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेललगायत उच्च पदाधिकारीका नातेदार परीक्षामा सफल भएका छन् । त्रिवि पदाधिकारीले आफन्तबाहेक पनि भनसुनका आधारमा थुप्रै पहुँचवालाका आफन्तलाई परीक्षामा पास गराएको स्रोतको दाबी छ । कुन पदाधिकारी, कुन विद्यार्थी/कर्मचारीका नेताले कुन प्रतिस्पर्धीलाई पास गराउन सिफारिस गरे भन्ने सूची सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

५० भन्दा बढी प्रतिस्पर्धीलाई पहुँच आधारमा उत्तीर्ण गराइएको उक्त सूचीमा उल्लेख छ । पहुँचवाला कर्मचारी, विद्यार्थी नेताका आफन्तलाई पास गराउन सेवा आयोगका पदाधिकारीले नतिजा आउनुअघि नै लिस्ट बोकेर हिँडेका थिए, त्रिविस्रोतले भन्यो, भागबन्डा आधारमा परीक्षामा अनियमितता गरेर तिनैमध्येकालाई पास गराइयो ।

उत्तरपुस्तिका परीक्षणमा गडबड गरेर आफूनिकटका व्यक्तिलाई पास गराइएको त्रिविका केही प्राध्यापकले बताए । खुला प्रतिस्पर्धाको अन्तर्वार्ता भने बाँकी छ ।

आयोग अध्यक्ष शर्मा नेकपानिकट हुन् भने प्रमुख कोइराला कांग्रेसनिकट हुन् । उनीहरूको सेटिङमा पूर्वएमाले, कांग्रेस र पूर्वमाओवादीनिकट पदाधिकारी तथा विद्यार्थी संगठनका नेताको सिफारिसमा नतिजा प्रकाशित भएको एक प्रााध्यापकले बताए । शर्माको कार्यकाल सकिन दुई महिना मात्र बाँकी छ । उनी एमालेनिकट भएकै आधारमा अवकाशलगत्तै त्रिवि उपकुलपति बन्ने लबिइङ गर्दै हिँडेका छन् । त्यसका लागि पनि नेता कार्यकर्ता खुसी पार्न शर्माले लिस्ट तयार पारेर पहुँचवालालाई जागिर दिन लागिपरेको ती प्राध्यापकको दाबी छ ।

आयोगले विज्ञापन नम्बर १८/२०७३/२०७४ मा विभिन्न पदमा खुला विज्ञापन गरेको थियो । उपप्रशासक, आर्थिक नियन्त्रक, शाखा अधिकृत, लेखा अधिकृत, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, लेखा सहायकलगायत १६ पदमा विज्ञापन गरिएको थियो ।

तीमध्ये शाखा अधिकृत, लेखा अधिकृत कार्यालय सहायक, लेखा सहायकको पदमा अनियमितता गरेर नातेदारलाई पास गराइएको आशंका छ । नतिजा प्रकाशनमा बदमासी गरेको भन्दै प्राध्यापक र विद्यार्थी संघरसंगठनले छानबिन गरी कारबाही गर्न माग गरेका छन् । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.