त्रिवि पुस्तकालय भवनको शिलान्यास

| 2022 Mar 17 | 07:52 am 1053

काठमाडौं, चैत ३ः सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधारको केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने–‘सरकारले उच्च शिक्षालाई आमूल रूपमा सुधार गर्ने संकल्प गरेको छ । उच्च शिक्षाको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया, त्रिभुवन विश्वविद्यालयका भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर त्रिभुवन विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सिलेन्सी’को रूपमा अगाडि बढाउने गरी शिक्षा मन्त्रालय छलफलमा लागेको छ ।’

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बताए । उनले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माण भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको सबैभन्दा ठूलो लगानी भएको बताए । उनले नेपाललाई शिक्षा क्षेत्रमा भारतले ५ करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको जानकारी पनि दिए ।

पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक, ४ लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन र प्रतिवेदनहरू रहेको बताए।

पुस्तकालय निर्माण पछि घरमै बसेर २४ सैं घण्टा अध्ययन गर्न सकिने छ । पुस्तकालय अपांगमैत्री बन्ने बताइएको छ । केसी हनुमान जेभीले गत पुसबाट निर्माण आरम्भ भएको पुस्तकालयको लागत ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रुपियाँ रहेको छ । पुस्तकालय भवन १५ महिनामा हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.