त्रिविले सोमबार ६१औं स्थापना दिवस मनाउँदै

| 2020 Jun 29 | 07:45 am 2467

काठमाडौं, असार १५ः अनलाइन कक्षा सञ्चालन गर्न नसकेर आलोचना खेपिरहेको त्रिभुवन विश्वविद्यालयले आज सोमबार ६१औं स्थापना दिवस मनाउँदै छ । लकडाउनका कारण गत चैत ७ गतेदेखि बन्द रहेको विश्वविद्यालयले आउँदो दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थी संख्यासहितको ग्रेस लिस्ट पारित गर्ने भएको छ ।

त्रिविसभाको बैठकले ग्रेस लिस्ट पास गरेपछि ती विद्यार्थी सम्भवतः पुस १५ मा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुने छन् । सभाले ५६ हजार ७ सय १३ जनाको ग्रेस लिस्ट पास गर्नेछ ।

विसं २०७६ असार १ गतेदेखि २०७७ जेठ मसान्तसम पीएचडीदेखि स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीको नाम ग्रेस लिस्टमा समावेश हुनेछ । प्रधानमन्त्री एवं त्रिविका उपकुलपति केपी शर्मा ओलीको उपस्थिति नहुने सभाको अध्यक्षता सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल गर्ने भएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार त्रिविमा ४ लाख १५ हजार ४ सय ८४ विद्यार्थी अध्ययनरत छन् । त्रिविले स्नातकोत्तर, एमफिल र पीएचडीका विद्यार्थी मात्र अनलाइन पढाइ गर्ने गरेको छ । त्रिविले सञ्चालन गरेको अनलाइन कक्षामा ३० प्रतिशत विद्यार्थी पनि सहभागी छैनन् । –त्रिवि सभा सदस्य एवं त्रिवि प्राध्यापक संघका सभापति डा वसन्त ढकालले भने ।

उनका अनुसार नाम मात्रको अनलाइन कक्षाले विद्यार्थीको पढाइमा कुनै प्रगति हुन सकेको छैन । त्रिविको तथ्याङ्कअनुसार व्यवस्थापन संकायका केही र विज्ञान र प्राविधिक विषयका केही विद्यार्थीले मात्र अनलाइनको कक्षा लिने गरेका छन् । मानविकी र शिक्षा संकायका विद्यार्थीको सहभागिता न्यून छ । –त्रिविका एक अधिकारीले भने । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.