त्रिविका उपकुलपति बास्कोटाद्वारा फेरि भागवण्डाको राजनीति शुरू

रिपोर्ट नेपाल | 2019 Dec 23 | 08:39 am 3148

काठमाडौं, पुस ७: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले फेरि भागवण्डाको राजनीति शुरू गरेका छन् ।

करिब डेढ महिनाअघि उपकुलपति नियुक्त भएका प्राडा बास्कोटाले केही दिनअघि पूर्वएमाले निकट दुई जनालाई उच्च पदमा नियुक्ति गरेर आफ्नो प्रतिबद्धतालाई मजाक बनाएका छन्।

पूर्वएमालेको कोटाबाट उपकुलपतिमा नियुक्त भएका प्राडा बास्कोटाले पद बहाली भएकै दिन आफूले कुनै पनि राजनीतिक भागवण्डा नगर्ने र त्रिविलाई स्वतन्त्ररूपमा सञ्चालन गर्ने बताएका थिए। तर, त्यसविपरीत पोखरास्थित वन विज्ञान क्याम्पसका क्याम्पस प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डीनमा ताराकान्त भुसाललाई नियुक्त गरेका छन्।

अघिल्ला उपकुपति प्राडा तीर्थराज खनियाको बाटो पछ्याउँदै उनले दुवै जनालाई तीनमहिने जिम्मेवारी दिएका छन्। त्रिवि कार्यकारी परिषद्को बैठकले तीनमहिने नियुक्ति दिन नमिल्ने भएपछि उपकुलपति प्राडा बास्कोटा आफैले अधिकार प्रयोग गरी खुसुक्क नियुक्ति गरेका हुन्। आफूलाई स्वच्छ भएको दाबी गर्दै हिँड्ने बास्कोटा आफ्नो नियुक्तिको छोटो समयमै आलोचित भएको छन्।

अब ललितपुरस्थित पाटन संयुक्त, वीरगन्जस्थित ठाकुरराम बहुमुखी र सुर्खेत शिक्षा क्याम्पसका खाली हुन लागेको क्याम्पस प्रमुखमा पनि आफ्नो पार्टी निकटलाई नियुक्ति गर्ने तयारीमा रहेको। –उनकै कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.