तेस्रोपटक संसद्को राज्यव्यवस्था समितिमा प्रेसलार्इ प्रतिबन्‍ध

रिपोर्ट नेपाल | 2018 Oct 03 | 06:50 am 1929

काठमाडौं, असोज १७: संसद्को  राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा मंगलबार पनि पत्रकार प्रवेशमा रोक लगाइएको छ । सभापति शशी श्रेष्ठको निर्देशनमा पत्रकारलाई प्रवेशमा रोक लगाएको यो तेस्रो घटना हो ।

समितिले मंगलबार कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतसँग मन्त्रालय र सेनाको कामकारबाही, प्रशासनिक कामबारे जानकारी लिएको छ ।
सोही क्रममा सभापति श्रेष्ठले बैठकमा पत्रकार सहभागी हुँदा सुरक्षा निकायको संवेदनशीलतामा असर पर्ने भन्दै पत्रकारलाई समाचार संकलनमा रोक लगाएकी हुन् । ‘समितिको बैठकबाट बाहिर गएर सहयोग गरिदिनुहुन पत्रकार साथीहरूलाई आग्रह गर्छु,’ समिति बैठकको क्रममा सभापति श्रेष्ठले भनिन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा गृह र रक्षा मन्त्रालयको छलफलमा सभापति श्रेष्ठले लगातार पत्रकार प्रवेशमा रोक लगाएपछि प्रमुख विपक्षी दल कांग्रेससहित अन्य दलका सांसदले असन्तुष्टि जनाएका छन् । मंगलबारको बैठकमा कांग्रेस सांसद मीना पाण्डेले असन्तुष्टि व्यक्त गरिन् । ‘मिडियाबाटै जनतासमक्ष समाचार पुग्ने हो, पत्रकारलाई समाचार संकलनमा किन रोक लगाउनू, बस्न दिए होला नि,’ उनले सभापति श्रेष्ठलाई भनिन् । तर, सभापति श्रेष्ठले समिति सदस्यहरूको आग्रह अस्वीकार गर्दै पत्रकारलाई बाहिरिन आग्रह गरिन् ।

कांग्रेसकै सांसद अमरेशकुमार सिंहले पत्रकार प्रवेशमा रोक लगाउनु उपयुक्त नभएको बताए । ‘यसबारे सभापतिज्यूसमक्ष कुरा गर्छौं । समाचार संकलनमा रोक लगाउनु राम्रो होइन,’ उनले भने । समाचार संकलनमा पत्रकारलाई प्रवेश नदिएको विषयमा एक साताअघि मात्रै विवादमा तानिएकी सभापति श्रेष्ठले सोमबार र मंगलबारको बैठकमा समेत पत्रकारलाई रोक लगाएकी हुन् । यसअघि सभापतिमा निर्वाचित भइसकेपछि पनि ‘गोप्य कुरा’ भन्दै पत्रकार प्रवेशमा रोक लगाएपछि उनको आलोचना भएको थियो ।

राज्यव्यवस्था तथा सुशासन समिति मात्र नभई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति विमलप्रसाद श्रीवास्तवले समेत यसअघि समिति बैठकमा पत्रकार राखेर निर्णय नहुने भन्दै प्रवेशमा रोक लगाएका थिए ।

पत्रकार महासंघद्वारा भत्र्सना

संसद्को राज्यव्यवस्था तथा सुशासन समिति बैठकको रिपोर्टिङमा पत्रकारलाई रोक लगाएको घटनाप्रति नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संसदीय समितिले हस्तक्षेप गरेको जनाएको छ । ‘नागरिकलाई सुसूचित गराउने कार्यमा पत्रकारलाई सहयोग गर्नुको साटो समाचार संकलनमा निषेध गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न महासंघले ध्यानाकर्षण गराएको छ ।

पत्रकारले भेटे उपसभामुख

आफूहरूलाई संसदीय समितिको समाचार संकलनमा पटक–पटक रोक लगाइएको भन्दै सम्बन्धित समिति सभापतिलाई विगतको अभ्यासबारे जानकारी गराउन पत्रकारहरूले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आग्रह गरेका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा उपसभामुख तुम्बाहाम्फेसँग भेट गर्दै पत्रकारहरूले संसद्जस्तो जनताको प्रतिनिधि रहने संस्थाभित्र राज्यकोषबाट तलब खाएर राष्ट्रसेवा गरिरहेका विभिन्न निकायबारे हुने छलफल कसरी गोप्य हुने भन्दै प्रश्न गरेका थिए । उपसभामुख तुम्बाहाम्फेले बिहीबार सबै समितिका सभापतिसँग छलफल रहेकाले सोही समयमा यसबारे छलफल गरिने बताइन् ।

बुझाइ गलत भयो : सभापति श्रेष्ठ

सभापति शशी श्रेष्ठले समिति बैठकमा पत्रकारलाई रोक लगाउने मनसायले त्यसो नगरेको दाबी गरेकी छिन् । गृह मन्त्रालय तथा सुरक्षा निकायजस्तो निकायमा सचिव, मन्त्रीबीचको द्वन्द्व, समस्यासहितका भित्री कुरा आउन सकोस् भनेर मिडियालाई प्रवेश नदिइएको उनले बताइन् । राज्यव्यवस्था तथा सुशासन समिति संवेदनशील विषयमाथि छलफल गर्ने समिति भए पनि अधिकांश बैठकमा पत्रकारलाई प्रवेश दिँदै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिने उनले स्पष्ट पारिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.