तुलसीपुरका विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम

| 2023 Mar 14 | 08:18 am 189

दाङ, फागुन ३०: दाङको तुलसीपुर उपमहानगरपालिकाका–६ का सामुदायिक विद्यालयहरूमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको छ।

सहयोगी निकायको समन्वयमा सामुदायिक विद्यालयहरूमा उद्यमशीलता परियोजना सञ्चालन गरेर विद्यार्थीलाई यो कार्यक्रम सुरु गरिएको हो। पढ्दै कमाउँदै अभियानलाई विद्यालयस्तरका पुर्‍याउनका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको उपमहानगरले जनाएको छ। अभियानअन्तर्गत विद्यार्थीहरूलाई वन र कृषिक्षेत्रसँग सम्बन्धित बिरुवा उत्पादन, बेमौसमी खेती, नर्सरी निर्माणलगायतका काम गरिनेछ।

पहिलो चरणमा दीपेन्द्र मावि मानपुर, माध्यमिक विद्यालय दोघरे, सरस्वती मावि दमारगाउँ, बालमितेरी मावि भोजपुर, जनजागृति मावि पातु बनगाउँ र माध्यमिक विद्यालय सेन्टरमा यस्तो कार्यक्रम लागू गरिएको मेट्रो कलेज तुलसीपुरका प्रमुख बसन्त आचार्यले बताए। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई उद्यमशील कार्य गर्नका लागि कलेजले प्राविधिक तथा आर्थिक सहयोग गरेको उनले बताए।

यसैबीच उद्यमशील कार्ययोजना निर्माणका लागि सम्बन्धित विद्यालयका विद्यार्थीहरूलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ। नगरप्रमुख टीकाराम खड्का विद्यार्थीहरूलाई सानैदेखि उद्यमशीलतामा लगाउनुपर्ने आवश्यकता रहेको बताए। नगरप्रमुख खड्काले आजभोलिका विद्यार्थीहरूमा सपना देख्ने तर काम नगर्ने प्रवृत्ति बढ्दै गएको भन्दै श्रमले नै मानिसलाई महान बनाउने कुरा उल्लेख गरे।

पूर्वनगर प्रमुख घनश्याम पाण्डेले विद्यार्थीहरूको काँधमा देशलाई उद्यमशील बनाउने जिम्मेवारी रहेको पनि बताए। देश बिग्रियो भनेर हामी निराश हुनेभन्दा पनि यसलाई कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण हो  पाण्डेले भने। कार्यक्रम मेट्रो कलेज तुलसीपुर र ग्रिन फाउनडेसनले सहयोग गरेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.