दार्चुला, साउन १७ः भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अमानवीय कार्यका कारण व्यास गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपत्ता भएको भन्दै उक्त घटनामा संलग्न एसएसबीमाथि कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् ।
शुक्रबार विहान ८ बजेतिर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा हतियारसहित एसएसबीको पोशाकमा आएका एसएसबीले तुइन काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीय तथा उनीसँगै खलंगा आउन लागेका प्रत्यक्षदर्शीको भनाइ छ । तुइनबाट खसेर धामी बेपत्ता भएको खबरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले पनि पुष्टि गरेका छन् । स्थानीय तथा प्रहरीले धामीकोे खोजी कार्य जारी राखेको छ ।
निवेदनमा मानिसले बाँच्न पाउने अन्तर्राष्ट्रिय मानव अधिकार, न्यूनतम मानवीय मूल्यमान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्ध तथा सामाजिक मूल्यमान्यतालाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउँदै नदीमा बगाएको हुँदा उक्त पाशविक घटनामा संलग्न एसएसबीलाई कारबाही गर्न माग गरिएको छ । साथै उक्त घटनाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको पनि निवेदनमा उल्लेख छ । नेपाल समाचारपत्रबाट