तीन वर्षदेखि न्यायको खोजीमा ८० वर्षीया बलात्‍कृत वृद्धा

रिपोर्ट नेपाल | 2018 Sep 10 | 09:25 am 3094

दमौली, भदौ २५: तनहुँको म्याग्दे गाउँपालिका-१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छिन्। २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा परेकी उनले हालसम्म पनि न्याय पाएकी छैनन्।

आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उनले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन। अब त आफू बाँच्दा नै अपराधीलाई कारवाही भएको देख्‍न पाउने आशा मरिसकेको उनले बताइन्। घरमा कोही नभएको मौका पारी रक्सीले मातेर आएका विकले ती वृद्धालाई बलात्कार गरेर भागेको स्थानीयवासी बताउँछन् ।

जबर्जस्ती बलात्कार गर्दागर्दै वृद्धाले हारगुहार गर्न थालेपछि विक भागेका थिए । उक्त घटनाका बारेमा प्रहरीलाई तत्कालै जानकारी गराउँदा पनि अभियुक्त विकलाई पक्राउ गर्न प्रहरी असफल भयो ।

पीडित वृद्धाको सोही दिन दमौली अस्पतालमा ल्याई स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको थियो । स्थानीयले तत्काल प्रहरीलाई खबर गरी केही अनुसन्धानका प्रक्रिया अगाडि बढेका भए पनि अहिलेसम्म दोषी फरार रहेकाले कुनै फैसला हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। उनले घटनाबारे सम्पूर्ण अनुसन्धान सकेर फरार अभियुक्तका रुपमा जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए।

म्याग्दे गाउँपालिकाको बाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महाकाली खनालले प्रहरीले गम्भीर भएर अनुसन्धान गरेको भए अभियुक्त तत्कालीन समयमै पक्राउ पर्नसक्ने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.