तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने गाउँपालिकाको निर्णय

रिपोर्ट नेपाल | 2020 Feb 16 | 09:28 am 1683

बाजुरा, फागुन ४: जिल्लाको गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ।

शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो। साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ।

दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए।

उनले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग पुर्‍याउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताए।

सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्।

छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७/०७८ का लागि रु ३७ करोड बजेट प्रस्तावित गरेको छ। ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल ३१ करोड ४५ लाख ९९ हजार ७ सय ५७ रुपैयाँ रहेको छ।

सङ्घीय सरकारबाट आएको समानीकरण सात करोड १० लाख रुपैयाँ, ससर्त अनुदान १३ करोड २७ लाख २७ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट पाँच करोड २९ लाख ६६ हजार ४ सय १६ रुपैयाँ र विशेष अनुदान दुई करोड ९० लाख रुपैयाँ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.