तीनवटा प्रज्ञा प्रतिष्ठान गाभ्‍नेबारे बहस

रिपोर्ट नेपाल | 2018 Jun 21 | 08:30 am 2400

काठमाडौँ, असार ७: सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रज्ञा प्रतिष्ठान बनाउने निर्णय गरेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकारको राय बुझ्‍ने उद्देश्यले वर्तमान परिप्रेक्षमा प्रज्ञा प्रतिष्ठानको पुनःसंरचना विषयमा विहीबार एक विचार गोष्ठीको आयोजना गर्‍यो ।

कार्यक्रममा केही बुद्धिजीवीले प्रज्ञा प्रतिष्ठानलाई एउटै संस्थामा गाभ्नुपर्ने तथा केही व्यक्तिले ती प्रतिष्ठानको अस्तित्व छुट्टाछुट्टै हुनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रज्ञा प्रतिष्ठान परिवर्तनको संघारमा रहेको बताउँदै तीनवटै प्रतिष्ठान स्थापनाको बेलाको उद्देश्य पूरा नभएकाले भविष्यमा अब कसरी अगाडि बढ्ने भन्ने सोच्ने बेला आएको बताए ।

उनले प्रतिष्ठान ऐन पारित भई लागू नभएसम्म तीनवटै प्रतिष्ठान साविकबमोजिम सञ्चालन हुने बताउँदै प्रतिष्ठानका कर्मचारीले आफ्नो जिम्मेवारी र कर्तव्य पालनालाई इमान्दारीपूर्वक पालना गर्न आग्रह गरे ।

मन्त्री पण्डितले देशमा संघीयता लागू भइसकेपछि सबै क्षेत्रबाट पुनःसंरचनाको माग भइआएको तर यथास्थितिलाई त्याग्न कसैले नचाहेकाले संस्थागत परिवर्तन जटिल रहेको उल्लेख गरे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तीनवटा प्रज्ञा प्रतिष्ठानलाई एउटैमा गाभ्ने सरकारको निर्णय बाहिर आएपछि प्राज्ञिक क्षेत्र तरंगित भएको बताउँदै प्रज्ञा प्रतिष्ठान जन्माउने, हुर्काउने तथा पालनपोषण गर्ने सरकारलाई हामीले प्रज्ञा प्रतिष्ठानलाई कसरी प्रभावकारी बनाउने भन्नेमा विश्वास दिलाउनुपर्नेमा जोड दिए ।

उहाँले सरकारले तीनवटा प्रतिष्ठानलाई गाभ्ने निर्णय गरेर बहसमा ल्याएको बताउँदै प्रज्ञा प्रतिष्ठानलाई के गर्ने भन्ने विकल्पसहितको सुझाव प्राज्ञिक क्षेत्रले दिनुपर्ने औँल्याए ।

प्राध्यापक जगत उपाध्यायले कार्यपत्र प्रस्तुत गरेका सो कार्यक्रममा उपप्राध्यापक चतुर्भुजलाल दास केवरत, खगेन्द्र राई, प्राज्ञ श्याम तमोट, प्राज्ञ केके कर्माचार्यलगायतका वक्ताले प्रतिष्ठान गाभ्ने निर्णयपछि प्राज्ञिक क्षेत्रमा बहस शुरु भएको बताए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.