हेटौंडा, कात्तिक १८ः वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले तिहारलगत्तै संसद्बाट विश्वासको मत लिने भएका छन् ।
कात्तिक ११ गते गठबन्धनका तर्फबाट ५९ सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका पाण्डेले कात्तिक २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री बन्नैका लागि संघीय राजनीतिबाट प्रदेशमा आएका पाण्डेलाई सत्तारोहण गर्न ४२ महिना कुर्नुपर्यो । तर, अब लामो समय नकुरेर ‘जनताका काम’ गर्ने मुडमा मुख्यमन्त्री देखिएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिन मुख्यमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) का मुख्यमन्त्री पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोहीअनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्बाट निर्णय गराएर विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताए । ‘सरकार गठनकै दिन मन्त्रिपरिषद्बाट निर्णय गरेर तिहारलगत्तैको मिति तय गरेका थियौं ।
कात्तिक २२ गते प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको छ’ –मन्त्री खनालले भने । मुख्यमन्त्री पाण्डेले हालकै अवस्थामा संसद्बाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । प्रदेशसभामा गठबन्धनसँग ५९ मत छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा भएको छलफलअनुसार विश्वासको मत लिएसँगै उहाँका चुनौती मन्त्रिपरिषद् विस्तार हो । सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ ।
नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनले निर्णय नगरेको बताउनुभएको छ । उहाँले मुख्यमन्त्री नियुक्त गर्ने दिन गठबन्धनका दलहरुबीच सामान्य छलफल भए पनि निष्कर्षमा नपुगेको बताए । नेपाल समाचारपत्रबाट