ताप्लेजुङका यी अगुवा महिलाबाट देशभरका आमा-दिदीबहिनीले सिक्ने कि ?

| 2018 Oct 08 | 10:12 am 5019


– महेन्द्र पाण्डेय

लगभग तीन दशकअघिसम्म चुलोचौकामा सीमित रहने नेपाली महिला पछिल्लो समय निकै चेतनशील हुन पुगेका छन् । ‘अधिकार भिक मागेर पाइँदैन, खोसेर ल्याउनु पर्छ’ भन्ने धारणालाई व्यवहारमै लागू गर्ने अवस्थामा पुगेका छन् आजका महिला । पंक्तिकारले यसो भन्दैमा देशका सबै महिला वा चेलिबेटी अधिकारसम्पन्न, सुखी या खुसी भएका छन् भन्ने होइन । केवल विगतको तुलनामा निकै चेतनशील भएर अघि बढेका महिलाको सङ्ख्यामा बढोत्तरी भएको छ भन्नेचाहिँ हो ।

महिलाहरूले सञ्चालन गरेका संघ–संस्था पुरुषले चलाएकोभन्दा तुलनात्मक रूपले ज्यादा चलायमान हुने र समयमै काम सम्पन्न गर्ने प्रकृतिका छन् । हाम्रा गाउँ–बस्तीमा आमा समूह, दिदीबहिनी समूह, चेलिबेटी समूह बनाएर सामाजिक कार्यमा लाग्नेदेखि सहकारीको माध्यमबाट महिलाको आर्थिकोपार्जन उकास्ने प्रयास स्वयम् महिलाहरूबाटै हुँदै आएका छन् । विकासका कार्यक्रमका सन्दर्भमा पनि महिलाको नेतृत्व रहेका उपभोक्ता समितिहरू स्वच्छ र बढ्ता कर्मठ देखिएका छन् । महिलाको नेतृत्वमा रहेका त्यस्ता समिति आर्थिक हिनामिना हुनबाट पनि बच्ने र काम पनि समयमै सम्पन्न हुने गरेका उदाहरण प्रशस्तै छन् ।

गाउँघरमा हुने महिला हिंसादेखि घरेलु हिंसालाई केही मात्रामा भए पनि नियन्त्रण गर्न–गराउन महिलाका नाममा खुलेका संघ–संस्थाले उल्लेख्य काम गरेका छन् । विभिन्न नामबाट खुलेका महिलाका संस्थाले गाउँबस्तीमा हुने गरेका महिला हिंसा नियन्त्रण र सामाजिक विकासका क्रियाकलापमा सक्रियता प्रदर्शन त गरेकै छन्, त्यसको अलवा संस्कृति संरक्षणमा समेत उत्तिकै योगदान पुर्याएका छन् । विवाह आदि संस्कार आयोजना भएका घरमा दुलहीतर्फका महिलाले दुलाहालाई र दुलाहा तर्फका महिलाले दुलहीलाई संस्थागत स्वागत गर्ने र आफ्नोपनको विकास गर्ने परम्परा पनि बस्दै आएको छ ।

यसै क्रममा पूर्वी नेपालको रमणीय क्षेत्र र गुराँसको राजधानी भनेर चिनिने ताप्लेजुङका महिलाले छुट्टै किसिमको सामाजिक अपराध विरुद्धको काम गरेर आफूहरुलाई चिनाउन सफल भएका छन् ।

झण्डै एक दशक अघि महिला माथि हुने हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको ‘सामाजिक न्यायको लागि महिला संजाल’ नामको यो संस्थाले यसबीचमा चमत्कारी काम गर्दै आएको छ भन्दा अत्युक्ति हुँदैन । महिला र घरेलु हिंसा अन्त्यका लागि चेतनादायी र दबाबमूलक काम गर्ने उद्देश्यले स्थापना भएको संजाल पछिल्ला दिनमा सच्चा न्याय दिने संस्थाका रुपमा समेत परिणत हुन पुगेको छ ।

संजालकी अध्यक्ष गीता लिङ्देनका अनुसार जुनबेला उक्त संस्था स्थापना गरिएको थियो, त्यसबेला महिला र घरेलु हिंसा स्थानीय स्तरमा विकराल नै थियो । उनी भन्छिन्, ‘हामीकहाँ निवेदन परेपछि दुबै पक्षलाई बोलाएर सम्झाइबुझाइ गर्नुका साथै उनीहरूका कारण समाज र सन्तान बिग्रने कुरा गरेपछि थुप्रै सम्बन्धविच्छेद हुन लागेकाहरूलाई मिलाउने काम गर्यौँ ।’

संजालको गठनपश्चात् समाजले यो संस्थाप्रति आशा र भरोसा राखेको महसुस गरी वर्षौंसम्म अदालतमा नमिलेको कुरा संजालमा राखेर क्षणभरमा मिलाएको संस्थाकी अध्यक्ष गीता बताउँछिन् । सञ्जालसमक्ष निवेदन आएपछि आग्रह–पूर्वाग्रह नराखी स्वतन्त्र ढंगले छलफल गराइने भएकोले गलत गर्नेले पनि संस्था र समाजलाई सम्मान गरेर समझदारीमा आउने गरेको लिङदेनको भनाई छ । तिललाई पहाड बनाएर प्रहरी प्रशासन धाउँदा मन त फाट्छ नै धनको समेत सर्वनास हुने भएकोले समाजका मुद्दा समुदायमै मिल्नुपर्छ भन्ने कुराको विकास भएको अध्यक्ष गीता बताउँछिन् ।

त्यस्तै, संजालकी सदस्य चित्राकुमारी लिम्बु पनि संजालले गरेका काम र प्रदान गरेको न्यायका कारण समाज सुधारोन्मुख भएको बताउँछिन् । ‘अहिले त अन्तरपार्टी महिला संजाल छ । हामीले सामाजिक न्यायका लागि महिला संजाल स्थापना गर्दा गाउँमा महिलाहिंसा विकराल थियो । जब गाउँमा यो संस्था जन्मियो धेरै महिला दिदीबहिनीले अन्यायको रापबाट शितलता पाएको अनुभव गरे’, लिम्बुको भनाई छ । महिला हिंसा न्यूनीकरण गर्दै पुरुष र महिला एक रथका दुई पाङ्ग्रा हुन् भन्ने चेतना पनि यो संस्थाले दिँदै आएको लिम्बु बताउँछिन् ।


(आपसमा मेलमिलाप गराउँदै महिला सञ्जाल)

संस्था नहुँदासम्म ताप्लेजुङका महिलाहरू हिंसा सहेर बस्न विवश थिए, अड्डा–अदालत जान उनीहरुको पहुँच थिएन । जब संजाल बन्यो त्यसपछि गाँउमा मिलाउन सक्ने त्यहीँ मिलाउने नभए कुराकानी उपचारका लागि सहयोग गर्ने र न्यायमा पहुँच पुर्याउने काम पनि संस्थाले गर्दै आएको चित्राकुमारी लिम्बुको कथन छ । संजालले घरेलु हिंसाका थुप्रै घटनालाई मिलापमा परिणत गराइदिएको छ भने अंशबण्डादेखि अन्य सामाजिक विकृतिका कुरा आइन्दा नगर्ने सर्तमा मिलाइदिएको छ ।

ताप्लेजुङको फुक्लिङ नगरपालिकामा रहेको संजालमा थेग्नै नसक्ने गरी निवेदन पर्ने गरेका छन् । संस्थाका पदाधिकारी स्वयमसेवी भएका कारण आफ्नो जिविकोपार्जनको विषयमा पनि सोच्नुपर्ने भएकोले पछिल्लो समयमा चाहेजति समय दिन नसकिएको अध्यक्ष गीताको भनाई छ ।

यसप्रकार, ‘महिला देवी हुन्, उनीहरू अन्याय सहन सक्दैनन् र सहेर बसेकालाई पनि न्यायरूपी परिणाम चखाएर सुखी र सुन्दर जीवन जिउन उत्प्रेरित गर्छन्’ भन्ने धारणालाई ताप्लेजुङका महिलाले व्यवहारबाटै सिद्ध गरेका छन् । यस्तै प्रशंसनीय कामको अनुशरण देशभरका आमा, दिदीबहिनीबाट होस् भन्ने पंक्तिकारको विशेष आग्रह छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.