ताप्लेजुङ, कात्तिक २१ः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएका छन्।
फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ ।
पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उहाँले वर्षमा करिब १३ मनसम्म अलैँची बिक्री गर्दै आएका छन् ।
तिहारको बेला ताप्लेजुङका किसानलाई अलैँची घरमा भित्र्याउन चटारो छ । अलैँची पाक्ने याम सुरुभएसँगै यहाँका किसानको व्यस्तता बढेको छ ।
बेँसीमा लगाइएको अलैँची चाँडो पाकेपनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम भने मङ्सिर अन्तिम सातासम्म नै लाग्छ । सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैँची भदौदेखि टिप्न थाल्ने बताउँछन् ।
“बेँसीमा प्रायः भदौ र असोजभित्र अलैँची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मङ्सिरसम्म अलैँची टिप्न चटारो हुन्छ”, राईले भने । केही वर्षयता अलैँचीको भाउ निरन्तर ओरालो लागेको छ ।
तर पनि यसखेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैँची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिकारुपमा प्रयोग गरिने अलैँची खेती जिल्लाको ६१ वडामा गरिँदै आएको छ ।
अलैँची खेतीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए।