तापक्रम घट्दै, रोगव्याधी बढ्दै

रिपोर्ट नेपाल | 2019 Dec 30 | 08:45 am 1959

काठमाडौं, पुस १४: तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ । मुलुकका विभिन्न भागमा तापक्रम घट्दै गएकाले सबै सजग हुन आवश्यक छ । रोगव्याधिले सताउन सक्छ ।

पश्चिमी वायुको वहाब नेपालतर्फ बढिरहेकाले चिसो भइरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी शाखा प्रमुख डा इन्दिरा कँडेल बताउँछिन् । यतिबेला सूर्य दक्षिणि गोलार्धतर्फ ढल्किएको छ । उत्तरतर्फ रहेको नेपालमा पश्चिमी चिसो वायु आइरहेको छ । यसले गर्दा पनि जाडो महसुस भइरहेको छ, उनले भनिन् । उनले साइबेरियाबाट आएको चिसो हावा पनि मिसिँदा ठन्डी बढेको बताइन् । चिसो हावाको घनत्व बढिरहेकाले ठन्डीले धेरैलाई सताइरहेको छ ।

विभागका अनुसार २५ मंसिरदेखि मुलुकको पश्चिमी भूभागबाट न्यूनचापीय प्रणालीको प्रवेश भएको छ । यो प्रणालीका कारण देशको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको थियो ।

दुई साताअघि पश्चिमी वायुकै प्रभावले मुलुकको अधिकांश भूभागमा वर्षा भएकाले तापक्रम चिसिँदै गएको विभागले जनाएको छ ।

विभागका अनुसार तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्नेछ । दिउँसो राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आइ चिसो नै रहनेछ । आगामी मंगलबारसम्म पहाडी भूभागमा आंशिक बदली हुने विभागले अनुमान गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.