काठमाडौं, साउन ११ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि सिनामंगलमा बरामत भएकाे १ सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण मार्फत सर्वसाधारणलाई जानकारी दिने राजश्व अनुसन्धान विभागले जनाएकाे छ ।
हालसम्मको ठूलो परिमाणको सुन तस्करी घटनाका सम्बन्धमा के कसरी गरीयाे सम्पूर्ण घटनाक्रमको जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न लागिएको विभागको भनाई छ । विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग छलफल गरिसकेको छ ।
‘ब्रेक शु’बाट सुन छुट्याउदा कति मात्रामा सुन निस्कन्छ यकिन गरेकाे सम्पूर्ण प्रकृयाको प्रत्यक्ष प्रसारणका लागि राजस्वबाट प्रस्ताव आएको टक्सार विभागले जनाएको छ । ‘सुरक्षाको उपाय अवलम्बन गर्दै सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी छलफल भएको छ,’ राजश्व विभाग स्राेतले भन्यो ।
यसबारे विभागले प्रधानमन्त्रीसँग छलफल गर्नु पर्ने भएकाले निर्णय भने शुक्रबार प्रधानमन्त्री नेपाल फर्किएपछि मात्रै गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री फर्किए पछि मात्रै सुन गाल्ने गरी तयारी दुवै विभागले गरेका छन् । सुन गाल्नका लागि राजस्व अनुसन्धन, भन्सार विभाग, राष्ट्र बैंक आन्तरिक लेखा परीक्षण विभाग, टक्सार लगायतका ८ देखि १४ जना अधिकारीको प्रत्यक्ष निगरानी चाहिन्छ ।
‘ब्रेक शु’बाट सुन छुट्ट्याउन एक दिन लाग्ने र गुणस्तर जाँचका लागि थप केही घण्टा लाग्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सारको हाताबाट २ साउनको साँझ ५ बजे सुनसहित २ जनालाई पक्राउ गरेको थियो ।
हङकङबाट नेपाल ल्याएको तस्करीको सुन प्रकरणमा बुधबार साँझसम्म १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा ३ जना भन्सार विभागका कर्मचारी समेत छन् ।