काठमाडौं, मंसिर ३: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् । अमेरिकन आधुनिक हतियारसहित कात्तिक १४ मा पक्राउ परेका नेपालगञ्ज नगरसभापतिलाई भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
खड्कालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा फरार रहेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिए । उनी अपहरण परेको भनेर फोन आएपछि प्रहरी टोली खोजीमा जुटेको थियो । उनले प्रयोग गर्ने मोबाइल ट्र्याकिङ गर्दै प्रहरी गोंगबुको एक होटलमा पुग्यो र खड्कालाई फेला पार्यो । सोधपुछको क्रममा उनले आफूले अपहरणको नाटक गरेको प्रहरीलाई बताए ।
इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्राप्त पत्रअनुसार खड्कालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार, २६ असोजमा खुकुरी प्रहार गरिएका लोकेन्द्र शाहीको घटनामा खड्का प्रतिवादी रहको बुझिएको छ ।