तरकारी खेतीबाट लाखौ आम्दानी गर्न सफल मोतिलालको कथा

रिपोर्ट नेपाल | 2023 Jan 12 | 08:24 am 1065

काठमाडाैं, पुस २८ः बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे। उमेरले बुढ्यौली लागे पनि उनमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन। सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो। उनमा तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ।

तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसकेका छन। उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गरेका हुन। बिहानै उनी बागलुङ बजारमा तरकारी बिक्री गर्न आउँछन। “मसित पुख्र्यौली सम्पत्ति थिएन,  वर्षौं अरुको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ”, सापकोटाले भने ।

पहिला तरकारी खेती गर्ने चलन थिएन। उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो। “अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ,  बजारमा तरकारीको माग बढ्दै गएको छ”, उनले भने । “हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छु”, उनले भने । तीन लाखदेखि  पाँच लाखसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ।

तरकारी खेतीले सापकोटा परिवारको जीवनशैलीनै बदलिएको छ। बिहान तरकारी बेच्ना बजार पुग्ने र दिउँसो साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताए। कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय–समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताए। सापकोटा निकै पुरानो कृषक रहेको भन्दै उनलाई नयाँ प्रबिधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ। कृषि ज्ञान केन्द्रले गत वर्ष सापकोटालाई दुई लाख अनुदानसमेत दिएको पुनले बताए।

“उनले निकै राम्रो तरकारी खेती गर्दै आएका छन , दिनदिनै बजारमा आउँछन, कार्यालयमा आएर आवश्यक सहयोग पनि माग्छन, हामीहरुले पनि उनलाई सहज रुपमा सेवा दिई राखेका छौँ, निकै उत्साहका साथ लागि राखेका छन”, सूचना अधिकारी पुले भने, “अघिल्लो वर्ष पनि दुई लाख सापकोटालाई अनुदान दिएका थियौँ, तालिम र परामर्श त हुनेनै भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.