काठमाडौँ, असार २६ः आम्दानी बढेको छैन । खर्च बढेको बढ्यै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन् । न्यून आम्दानी हुनेलाई दुई छाक तरकारी खान पनि रहर छ । यो भनाइ कङ्लकीको चोकमा बसेर सडकमै कपडा बिक्री गर्ने विष्णुमाया थापाको हो ।
कोरोनाले पसल नै चलेको छैन, चार जनाको परिवारलाई दालभात दुई छाक खान पनि गाह्रो भएको बताउँदै उनीले भनिन्, “एक केजीको एक सय रुपियाँ कमको कुनै तरकारी छैन, आम्दानी नहुनेले कसरी खान सक्नु ? तरकारी एक छाक मात्रै खान थालेको एक साता भयो । ” पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।
चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ । पहिले दुई/तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ ।
कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहनुभएका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाइन् । उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताइन् । सुवेदीले तरकारीको भाउ छोइसक्नु छैन । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगियो भनिन् । गाेरखापत्र दैनिकबाट