तनावमा सक्कली शरणार्थी

रिपोर्ट नेपाल | 2023 May 17 | 09:32 am 973

विराटनगर, जेठ ३: तेस्रो मुलुक पुनर्वासमा जान नमानेका र हालसम्म शिविरमै रहेका भुटानी शरणार्थी भने यो प्रकरण बाहिरिएसँगै तनावमा छन्। शारीरिक तथा मानसिक यातना खेपेर आफ्नो भूमि छाड्न बाध्य भएका भुटानीलाई आफ्नै देश भुटान फर्काउने प्रयास पनि पटक–पटक भएको थियो। तर, सफल नभएपछि तेस्रो मुलुक पुनर्वासको प्रक्रिया अघि बढाइयो।

त्यसपछि पुनर्वासका लागि उनीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, नर्वे, बेलायत, नेदरल्यान्डसलगायतका मुलुक लगियो। तेस्रो मुलुक जान नचाहेका र विभिन्न कारणले छुटेका शरणार्थी अहिले पनि शिविरमै छन्। आफ्नो मुलुकबाट लखेटिएका सक्कली शरणार्थी अहिले नक्कली शरणार्थी प्रकरण बाहिरिएपछि थप त्रास र तनावमा छन्।

शरणार्थी व्यवस्थापन समितिका सचिव चम्पासिंह राईका अनुसार मोरङको पथरी शनिश्चरेस्थित शिविरमा हाल ४ सय १० परिवारका १ हजार ४ सय ४१ जना शरणार्थी छन्। तीमध्ये ९६ जना दर्ता प्रक्रियामै छुटेको उनले बताए।

‘पथरी शनिश्चरेमा सन् १९९२ जुलाईमा भुटानी शरणार्थी शिविर स्थापना भएको हो,’ राईले भने, ‘त्यतिबेला १६ हजार शरणार्थी रहेकामा सन् २००८ सम्ममा २४ हजार नाघेका थिए।’ राईका अनुसार अहिलेसम्म नेपालबाट १ लाख १३ हजारभन्दा बढी शरणार्थी तेस्रो मुलुक गइसकेका छन्। नक्कली शरणर्थी काण्डले सक्कलीहरू तनाव र त्रास बेहोर्न बाध्य भएको उनले बताए। ‘शिविरमा अहिलेसम्म कोही पनि नक्कली शरणार्थी देखिएका छैनन्,’ उनले भने, ‘तर, नक्कली शरणार्थी खडा गरिएको विषयले चिन्ता थपिएको छ।’ अन्नपूर्ण पाेस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.