तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको विवादमा पूर्ण इजलासमा सुनुवाइ हुँदै

| 2025 Apr 17 | 12:20 pm 461

काठमाडौँ ४ वैशाख २०८२ / ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ । दोस्रो नम्बरमा तोकिएको पेसीको आजै सुनाइ हुने सम्भावना बढी रहेको छ ।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका अतिरिक्त पूर्वमुख्य सचिव लिलामणि पौड्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।

२०६६/६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा विशिष्ट व्यक्तिको निवास विस्तारका नाममा नक्कली मोही र भूमाफियालाई ललिता निवासको जग्गा सट्टाभर्ना दिने निर्णय मन्त्रिपरिषद्बाट भएको थियो ।

२०६९ मा पशुपति टिकिन्छा गुठीमा ललिता निवासको जग्गा कायम गर्ने निर्णय गर्दा भट्टराई प्रधानमन्त्री थिए । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णय गर्दा पौड्याल नेपाल सरकारको मुख्यसचिव थिए । उनीहरूविरुद्ध पनि मुद्दा चल्नुपर्ने मागसहित रिट निवेदन दायर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.