तटबन्धनका लागि तत्काल व्यवस्था गर्न माग

रिपोर्ट नेपाल | 2022 Jun 21 | 07:42 am 113

तनहुँ, असार ७ः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुको भानु नगरपालिका-११ मा बाढीले क्षति पुर्‍याएका स्थानको सोमबार अवलोकन तथा निरीक्षण गरेका छन् । एक साताअघि वर्षाका कारण बाढी पहिराले क्षति पुगेको स्थानको पौडेलले अवलोकन गरेका हुन् ।

नेता पौडेलले ढाँडफेदी, सुन्दर बस्ती, टुहुरेपसललगायतका स्थानको अवलोकन गरेका छन् । स्याउदे खोलाको नव निर्मित पुल क्षतिको अवलोकन, रूपाकोटस्थित सवादीखोलाले बगाएको कजवेको अवलोकन, ढाँडखोलामा आएको बाढीले स्थानीयवासीको घर जोखिम भएको स्थानको उनले निरीक्षण गरे । क्षति भएको क्षेत्रको अवलोकन गर्दै नेता पौडेलले यही असारभित्रै तारजाली हालेर अहिले तत्कालका लागि तटबन्धनको व्यवस्थापन गर्ने काम गर्न निर्देशन दिए ।

अहिले तत्कालको लागि ढाँडखोलाबाट बस्तीमा जोखिम देखिएको स्थानमा तारजाली लगाउने र खेतमा पानी पुर्‍याउनका लागि पाइपको व्यवस्था गरिने उनको भनाइ थियो । सो अवसरमा नेता पौडेलले ढाँडखोलाले बगाएर बेपत्ता भानु-११ का चन्द्रबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग समेत गरे । त्यस्तै भानु-११ सुन्दर बस्तीका अर्जुन कुँवरको भत्किएको घरको समेत अवलोकन गरेर परिवारलाई सान्त्वना दिए ।

सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले जङ्गलबाट आएको पहिरोले ढाडखोला क्षेत्रमा क्षति पुगेको र तत्कालको लागि तटबन्धन निर्माण गरिने बताए । यसपछि विस्तारै दीर्घकालीनरूपमा योजना बनाएर तटबन्धन गरिने उनले बताए । भानु-११ का वडा सदस्य अजय थापाले बाढीले भानुको ढाँडफेदी क्षेत्रमा ठूलो क्षति पुगेको बताए ।

उक्त अवलोकनमा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्मा, कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौलीलगायत सहभागी थिए । यसैबीच वरिष्ठ नेता पौडेलले उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग फोन सम्पर्क गरेर ढाँडखोलाले गरेको क्षतिका कारण बस्ती जोखिममा रहेकाले तटबन्धनका लागि तत्काल व्यवस्था गर्न समेत आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.