सुनसरी, कात्तिक १४: गएराति धरान उपमहानगरपालिका वडा नं १५ खोरिया बस्तीमा एकजना व्यक्तिले ढुङ्गा प्रहारगरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
हत्या खोरिया बस्तीका ३१ वर्षीय अर्जुन राईले श्रीमती २३ वर्षीया बीना राईलाई सेउती खोलाको निर्माणाधीन पुल नजिकै डिलमा लगेर ढुङगाले हानी निर्मम तरिकाले हत्या गरेका छन्।
प्रहरीले दिएको जानकारी अनुसार धरान कै ५ नं वडा पानवारी माइतीमा बस्दै आएकी बीना बुधबार मात्रै घर खोरिया बस्ती आएकी थिइन्।
पहिले देखि नै उनीहरबीच सामान्य झगडा भइरहेकोमा अचानक उग्ररुप लिएर हत्यासम्म हुन पुगेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
मृतक बीनाको शवको टाउको क्षतिग्रस्त भएको अवस्थामा भेटिएको उनले बताए। पत्नीलाई खोलाको डिलमा लगेर ढुंगाले हानेर हत्या गरेपछि अर्जुन भागेका थिए।
घटनालगत्तै प्रहरीले अर्जुनलाई गएराति नै साढे ११ बजे बाँझोगरा सामुदायिक वन नजिकको सेउती खोला पुलमुनि लुकिरहेको अवस्थामा पक्राउमा परेको प्रनाउ न्यौपानेले जानकारी दिए।
अर्जुनमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थपी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाए।
प्रहरीका अनुसार लामो समयको प्रेमपछि बीनाले अर्जुनसँग २०७० सालमा भागी विवाह गरेकी थिइन्। प्रेमपछि भागी विवाह गरेका उनीहरुबाट जन्मिएकी एक ६ वर्षीया छोरी छिन्।