बारा, असार २०ः जिल्लाको कलैया उपमहानगरपालिका ११ पिप्राढीस्थित पसाहा खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका व्यक्ति तथा चौपाया र विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
सो खोलाको पानी नजिकै रहेको बस्तीमा पसेर डुवानमा परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट सशस्त्र प्रहरी त्यसठाउँमा खटिई तदारुकातासाथ उद्वारमा जुटेको हो ।
यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका ११ रानीघाटस्थित सिर्सिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।
उक्त नदिमा पानीको बहाव बढेर बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र बिओपी सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।
खोलामा डुवेरकाको शव सशस्त्र प्रहरीद्वारा फेला
सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरस्थित बगही खोलामा डुवेर बेपत्ता भएकी एक बालिकाको शव सशस्त्र प्रहरीले असार २० गते फेला पारेको छ ।
सोही ठाउँ बस्ने १३ वर्षिया रिभा हजारी नुहाउने क्रममा उक्त खोलामा डुवेर बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बहादुरपुरबाट खटिएको सशस्त्र प्रहरीले उनको शव घटनास्थल नजिकै डुवेको अवस्थामा फेला पारेको हो ।
चोरीपैठारीको विभिन्न सामान बरामद
कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित आमबगैयाँ, बेलडाँडी गाउँपालिका ३ कालोपुल र बेदकोट नगरपालिका १० दैजी ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चिनी तथा सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान तथा उक्त दुई वटै मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, औषधी र मोटर पार्ट्स बरामद गरेको छ ।
भारतबाट ना ४६ प २५८९ नम्बरको मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।