डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर

| 2024 Apr 02 | 08:35 pm 937

काठमाडौँ २० चैत। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाएको हो । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला गरेको छ। २५ मंसिर २०७९ मा सुन ल्याएर राखेका केसीविरुद्ध यसै वर्ष १३ भदौमा मुद्दा दायर भएको थियो ।

यसैगरी केसीलाई घुस दिने व्यवसायी जिसीले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएकोमा उनलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ । दुवैको मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सुनुवाइ गरी सजाय सुनाएको हो ।

बुटवलको इलाका प्रहरी कार्यालय प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएका थिए भने फिर्ता गर्न घूस मागिरहेका थिए । केसीले ३४ तोला २१ लाख ७ प्वाइन्ट सुन लिएर गएको र १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो ।

यस विषयमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान भएको थियो । सुन लिइ फिर्ता दिने प्रयोजनका लागि उनले १८ लाख रुपैयाँ माग गरिरहेका थिए । ८ लाख ५० हजार रुपैयाँ उनले अन्य व्यक्तिमार्फत् नगद र ९ लाख ५० हजार रुपैयाँ चेक मागेको अनुसन्धानबाट खुलेको थियो ।

खानतलासीका क्रममा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन बरामद भएको थियो । सुन फिर्ता लिने प्रयोजनका लागि घुस उपलब्ध गराउने जिसीविरुद्ध भने यसै वर्ष ११ पुसमा अख्तियारले मुद्दा चलाएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.