चीतवन, साउन १४: नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को अध्यक्षमा योगेगेन्द्र बहादुर अधिकारी निकटतम प्रतिद्वन्द्वी सिताराम केसीलाई ९४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन्।
विजयी अधिकारी शंशाक कोइराला र कृष्ण प्रसाद सिटौलाको प्यानलबाट उम्मेदवार बनेका थिए भने पराजित केसी बरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट उठेका थिए।
नवलपरासीको गैँडाकोटमा भएको १० औं महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा भने सुरेस पौडेललाई निर्वाचित गरेको छ । उनी पनि कोइराला र सिटौलाको प्यानलबाट उम्मेदवार बनेका थिए । कांग्रेसका शीर्ष नेताहरुको प्रत्यक्ष निगरानीमा निर्वाचन भएको थियो।
सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार महासचिवमा लक्ष्मीदेवी दाहाल रावल, खुल्ला सचिवमा खड्गबहादुर बुढाथोकी , महिला सचिवमा विष्णु बस्याल र कोषध्यक्षमा शोभा खतिवडा कोइराला विजयी भएका छन्।
यस्तै उपाध्यक्षमा तीन नम्बर प्रदेशबाट राजु कट्वाल, पाँच नम्बरबाट गोकर्ण सिंह थापा निर्वाचित भएका छन् भने बाँकी प्रदेशबाट उपाध्यक्षमा निविरोध चयन भएका छन्। चार वटा प्रदेश र १ महिलासहित ५ जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन्।
महिला उपाध्यक्षमा शुष्मा बास्कोटा बराल, प्रदेश १ बाट मुरारी खड्का, प्रदेश २ बाट राजनप्रसाद दाहाल, कर्णाली प्रदेशबाट खड्गबहादुर सिजापति र प्रदेश ७ बाट दिलबहादुर जेठारा निर्विरोध निर्वाचित भएका छन्।
४३ पदका लागि भएको निर्वाचनमा १८ जना निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध निर्वाचित हुने सदस्यहरुमा प्रदेश १ बाट अश्विनीकुमार भट्टराई, प्रदेश २ बाट सन्तोषकुमार पाण्डे, प्रदेश ५ बाट निर्मल गौतम, कर्णाली प्रदेशबाट दमनराज वम र प्रदेश ७ बाट उद्धवराज भट्ट रहेका छन् ।